सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिलिपिन्समा पुनः भूकम्पको धक्का, मृतकको संख्या ११ पुग्यो

२०७६ वैशाख १०, ०२:०९

मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन।

यसैबीच, सोमबारको भूकम्पबाट ज्यान गुमाउनेको संख्या ११ पुग्नुका साथै २४ जना हराइरहेको फिलिपिनी अधिकारीहरुले बताएका छन्। निकै ठूलो जनधनको क्षति गरेको त्यस भूकम्पबाट भएको मानवीय क्षति अझ बढ्न सक्ने बताइएको छ। राजधानी मनिलाको उत्तरी प्रान्त पाम्पान्गाको पोराक शहरमा भवनहरु र अरु संरचना भत्किएका छन्। त्यस शहरमा सुरक्षाकर्मी एवं स्थानीय व्यक्तिहरुले रातभर उद्धारका काम गरेका छन्। भूकम्पको परकम्प ४०० पटकभन्दा बढी अनुभव गरिएको छ।

अमेरिकी भौगर्भिक सर्भेको प्रारम्भिक अनुमान अनुसार भूकम्पबाट करिब चार करोड ९० लाख मानिस प्रभावित भएका छन्। राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर सोमबार ५.७ म्याग्निच्यूडको भूकम्पका कारण भवनहरु भत्किएको स्थानीय अधिकारीले बताएका छन्।

शहरबाट टाढाका क्षेत्रबाट क्षतिका विवरणहरू प्राप्त हुने क्रम जारी रहेको बताउँदै भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रान्तीय गभर्नर लिलिया पिनेडाले बताए। साँझको समयमा आएको भूकम्पका कारण शहरी क्षेत्रमा विद्युत सेवा अवरूद्ध बन्दा कतिपय स्थानमा उद्धार कार्यसमेत प्रभावित बनेको उनले बताए। रासस

कमेन्ट लोड गर्नुस