सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा  श्रमदानबाटै युवाहरुले विद्युत लाइन विस्तार गरे

२०८० भदौ ८, १०:३८ खबर संवाददाता

डोटीः  डोटीको एक पालिकामा युवाहरुले श्रमदानबाट बिजुलीको लाइन बिसतार गरेका छन्। जिल्लाको जोरायल गाउँपालिका –३ का युवाहरूले श्रमदानबाट बिजुली बालेका छन्।

वडाध्यक्ष नवीन ओझाको अगुवाइमा स्थानीयले श्रमदानबाट बिद्युत विस्तार गर्दै ४ टोलमा बिजुली बालिसकेका छन् भने अन्य टोलमा बिस्तार कार्य जारी रहेको जनाएको छ। ५ वर्ष अघि ठेक्का लागेको बिद्युत विस्तारको योजना ठेकेदारले अलपत्र पारेपछि ३ सय ७६ पोल श्रमदानबाट बिस्तार कार्य तीव्र छ। तार र पोल ढुवानीमा श्रमदान भएको वडाध्यक्ष ओझाले बताए। ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा ठेकेदारले ढुवानी गर्न नसक्दा काम अघि बढ्न सकेको थिएन।

‘ निगल्तडा, धुरिया, मटेला, कापडी, कफल्टाक टोलमा बिजुली बलिसकेको छ,’ वडाध्यक्ष ओझाले भने, ‘कनेडी फिरिङ्ताल बिजुली बिस्तार कार्य सम्पन्न भइसकेको छ भने बरम टोलमा लाइन तानी सकेको, थली नौकुँडा टोलमा ट्रान्स मिटर चार्ज गर्न मात्र बाँकी रहेको, गडाखर्क थ्री फेज लाइन तानी सकेको, अल्याडी, ठाटी, गडा, दुदेखाली टोलमा विधुत विस्तार कार्य श्रमदानबाट जारी रहेको छ।’

उनले ३० प्रतिशत घरधुरीमा मात्र विद्युत रहेको वडामा तिहार भित्रै बालिसक्ने योजना समेत रहेको बताए। पटक पटक पहल गर्दा पनि ठेकेदार सम्पर्कमा नआएपछि श्रमदानबाट काम गर्न बाध्य भएको वडाध्यक्ष ओझाले बताए। यता डोटी बिद्युत वितरण कार्यालय प्रमुख शिवशंकर सोनीले भने सो क्षेत्रमा ठेकेदारले काम नगरी सम्पर्कविहीन भएपछि हाल ठेकेदार भरत बहादुर कठायत सम्पर्कमा आएको बताए। जोरायलमा उनका नाममा ४ वटा ठेक्का छन्। सम्पर्क आएपछि अधिकांश ठाउँमा काम गरिसकेकाले १०÷१२ दिन लगाएर कामको मूल्याङ्कन गरी प्रतिवेदन बनाउने काम भइरहेको कार्यालय प्रमुख सोनीले बताए।
 

कमेन्ट लोड गर्नुस