सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी हुन् ललिता निवास जग्गा प्रकरणमा मुछिएका सुदूरपश्चिमका ७ जना प्रतिवादी

२०८० भदौ ७, ०६:३२ खबर संवाददाता

धनगढीः ललिता निवास जग्गा प्रकरणमा प्रहरीले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ। यस मामिलामा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा सुदूरपश्चिम घर भएका सात जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ।

सिआइबीले दार्चुला घर भएका पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी, बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ घर भएका तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव  छविराज पन्त र डडेल्धुराको अजयमेरु गाँउपालिका वडा नम्बर ३ घर भएका भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सह-सचिव तेजराज पाण्डेलाई प्रतिवादी बनाउन राय दिएको छ।

यस्तै, कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ घर भएका नापी कार्यालय डिल्लीबजारका तत्कालीन अमिन कर्णबहादुर चन्द, डोटीको बडीकेदार गाँउपालिका वडा नम्बर ४ घर भएका गुठी संस्थान केन्द्रीय कार्यालयका तत्कालीन उप-प्रशासक हरिप्रसाद जोशी, दिपाय सिलगढी नगरपालिका वडा  नम्बर ५ घर भएका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु प्रकाशनारायण भट्ट र दार्चुलाको मर्मा गाँउपालिका वडा नम्बर १ घर भएका गुठी संस्थान शाखा कार्यालय काठमाडौंका सहायक द्वितीय डबलसिंह ठगुन्नालाई प्रतिवादी बनाउन सिआइबीले राय दिएको छ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सिआइबीले किर्ते र संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर सिआइबीले मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ ।


 

कमेन्ट लोड गर्नुस