सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा डेङ्गु नियन्त्रणको अभियानलाई थप प्रभावकारी बनाउनः स्वास्थ्यकर्मीको सुझाव

२०८० भदौ ६, ०९:१५ खबर संवाददाता

धनगढीः  कैलालीमा डेङ्गुको रोकथामका लागि अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय कैलालीले बुधवार आयोजना गरेको डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणसम्बन्धी सञ्चारकर्मीसहित सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा डेङ्गुको रोकथामलाई नियन्त्रण गर्नको लागि अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन सुझाव दिइएको हो।

कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मीले कैलालीमा डेङ्गुका बिरामी बढ्दै गएकाले रोकथामको अभियान थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। जनस्वास्थ्य निरीक्षक विमला ज्ञवालीले डेङ्गु नियन्त्रणका लागि लार्भा खोजी र नष्ट अभियानलाई जेठबाटै सञ्चालन गरिएको भएपनि केस बढ्दै गएको बताइन्। जसकारण अभियानलाई अझै प्रभावकारी बनाउन जरुरी रहेको उनले बताइन्।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार यो वर्षको साउन मसान्तसम्म कैलालीमा डेङ्गुका बिरामीको संख्या १३५ पुगेको छ। डेङ्गुको सङ्क्रमण बढ्दोक्रममा देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सरुवा रोग स्रोतव्यक्ति मीनबहादुर धामीले बताए। धामीका अनुसार गत वर्ष ४५५ जनामा डेङ्गु सङ्क्रमण भएको थियो। जसमध्ये तीन जनाको ज्यान गएको छ। यसअघि, आर्थिक वर्ष २०७६–७७ मा ४१, २०७७–७८ मा १०१ र २०७८–७९ मा १९८ जनामा डेङ्गु पुष्टि भएको थियो।

एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने गरेको छ। यो प्रजातिको लामखुट्टेले दिउँसोमा मात्रै मानिसलाई टोक्ने गर्छ। भाइरसबाट लाग्ने डेङ्गु रोग रोकथामको एकमात्र भरपर्दो उपाय डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान रहेको स्वाथ्यकर्मीको भनाइ छ। 
 

कमेन्ट लोड गर्नुस