सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा अस्पतालले पदपूर्तिकै जनशक्ति पाएन, कहिले हुन्छ अस्पताल सञ्चालन?

२०८० भदौ ६, ०६:४९ कमल सावद

धनगढीः संघीय मन्त्रिपरिषदले गेटामा न्यूनतम सेवासहितको अस्पताल सञ्चालनका लागि असारमा स्वीकृत दियो। २०८० असार १९ गतेको मन्त्रिपरिषद्ले अस्पतालका लागि आवश्यक दरबन्दीको स्वीकृत गरेको थियो। मन्त्रिपरिषदले स्वीकृत दरबन्दी अनुसार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी खटाउनुपर्ने हो। तर, कैलालीको गेटामा अस्पताल सञ्चालनका लागि जनशक्तिको पदपूर्ति भएको छैन।

अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले भने कर्मचारी गेटामा आउने क्रम जारी रहेको बताए। उनले भने, ‘कर्मचारी आउने क्रम जारी नै छ। सेतीबाट आउनु भएको छ। काठमाण्डौबाट आउनु भएको छ। डडेल्धुराबाट आउनु भएको छ। महेन्द्रनगरबाट पनि आउनु भएको छ। तर सबै आउनु भएको छैन। एक हप्तामा सबै आउनु हुन्छ होला।’

एक सय शय्याको अस्पताल सञ्चालनका लागि १४१ को दरबन्दी स्वीकृत गरिएको थियो। तर, अस्पतालमा संघीय स्वास्थ्य मन्त्रालयले खटाएका कर्मचारी पनि हाजिर भएका छैनन। संघीय स्वास्थ्य मन्त्रालयले सबै कर्मचारीसमेत खटाउन सकेको छैन। प्राविधिक र प्रशासन, प्राविधिक तथा चिकित्सकहरु अस्पताल सञ्चालनका लागि आवश्यक हुन्छन्। तर कर्मचारीको दरबन्दी स्वीकृत भए पनि कर्मचारीको पदपूर्तिका लागि समय लाग्ने देखिएको हो। जोशीले भने,  ‘दरबन्दी १४१ जनाको हो।

अहिले मन्त्रालयले पठाउदैछ। एक हप्तामा सकिन्छ। बुटवल, कर्णालीमा पनि कर्मचारी खटाइदैछ।’ न्यूनतम सेवामा आकस्मिक सेवा हुँदैन। ओपिडी सेवाहरु मात्र हुने छन्। निश्चित समयमा मात्र अस्पताल सञ्चालन हुनेछ। न्यूनतम सेवासहितको अस्पताल सञ्चालन गर्ने शब्द प्रयोग गरिएकाले ओपिडी सेवाको संख्या समेत कम हुने देखिएको छ।

संघीय मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा स्वास्थ्य मन्त्रालयले भने एक सय शय्याको अस्पताल सञ्चालन गर्न पनि कर्मचारीको अभाव देखिएको हो। अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले मन्त्रालयले पठाएपछि मात्र अस्पतालले कर्मचारी भर्नाको सूचना सार्वजनिक गरिने बताए। उनले कार्यक्रमसमेत स्वीकृत नभएको बताए।

एक सय शय्याको अस्पताल सञ्चालनका लागि शय्या, प्रयोगशालाका सामान र अल्ट्रासाउण्डका उपकरणहरु गेटामा जडान गरिएका छन्। तर अहिलेसम्म कर्मचारी भने हाजिर भएका छैनन्। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका कर्मचारी हाजिर नहुँदा अस्पताल सञ्चालनमा अन्योल कायमै छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस