सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयल निगम धनगढीको बदमासी, कर्मचारीलाई उन्मुक्ति दिएर चालकलाई कारबाही

२०८० भदौ ६, १०:३६ कमल सावद

धनगढीः नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढी डिपोबाट गत बिहीवार चार हजार लिटर पेट्रोल पहलमानपुरको मित्र ट्रेडर्स पेट्रोलपम्पमा गयो।

घोडाघोडी नगरपालिका–१० मा रहेको पेट्रोलपम्पमा तेलको तापक्रम र घनत्व परीक्षण गर्ने थर्मोमिटर र हाइड्रोमिटर थियो। पेट्रोलपम्पमा मापन गर्दा डिजेल मिसिएको पेट्रोल निगमले बिक्री गरेको पत्ता लाग्यो। आयल निगमको प्रादेशिक कार्यालय धनगढी डिपोले चार हजार लिटर पेट्रोल पठाएकोमा ४२ लिटर डिजेल थियो। धनगढी डिपोबाट पेट्रोलपम्पका सञ्चालक अजय बमसमेत ट्याङ्करमा गएका थिए। ट्याँकरमा तालासमेत लगाइएको हुन्छ।

धनगढीको डिपोमा नै मिसावट भएको भए पनि ट्याँकर चालकलाई मात्र कारबाही गरिएको छ। निगमको धनगढी डिपो तथा प्रादेशि कार्यालय प्रमुख मोहनकुमार शाहले चालकलाई कारबाही गरिएको बताए। उनले भने, ‘हामीले चेकजाँच गर्यौ। हाम्रो गेटबाट बाहिर गएपछि जिम्मा ढुवानी कर्ताको हुन्छ। विनियमका आधारमा हामीले चालकलाई तीन महिनाका लागि निलम्बन गरेका छौ।’

बिहीवारको घटनामा निगमका धनगढी डिपो प्रमुख मोहन शाह र अपरेसन विभागका कर्मचारीहरूको लापरबाही देखिएको छ। डिपोमा इन्डियन आयल कर्पोरेसन (आइओसी)को बन्थरा डिपोबाट पेट्रोल, डिजेल र मट्टीतेल आउने गरेको छ। धनगढीमा भण्डारण क्षमताको अभावका कारण आइओसीबाट पेट्रोलियम पदार्थ बोकेर आएको ट्यांकरलाई डिपोपरिसरमा सामान्य परीक्षण गरी पेट्रोलपम्पमा पठाउने गरिएको छ।

डिपोका प्रमुख र कर्मचारीले गरेको गल्तीको दोष ट्याङ्कर चालकमा थुपारिएको छ। चालकलाई तीन महिनाका लागि कारबाही गरिएको छ। शाहले ट्याँकरका चालकले कार्यालय बाहिर गएपछि पेट्रोलमा डिजेल मिसाएको दाबी गरेका छन्। निगमको धनगढी डिपोले पेट्रोल बोकेको ट्यांकरमा चालकले डिजेल मिसाएको दाबी गर्दै आएको छ। तर, धनगढीको डिपोबाट पेट्रोलपम्पका सञ्चालक बम ट्याङ्करमा नै पहलमानपुरसम्म गएका थिए। चालकले धनगढीदेखि पहलमानपुरसम्म ट्याँकर रोकेका पनि छैनन। तर, निगमका कर्मचारीले चालकमाथि दोष थुपारेर आफू उम्किएका छन्।

पेट्रोल लिएर गएको ना. ५ ख ७७३ नम्बरको ट्यांकरमा रहेको पेट्रोल हाइड्रोमिटरमार्फत परीक्षण गर्दा डिजेल मिसावट भएको पुष्टि भएको थियो। पेट्रोलमा डिजेल मिसावट भएपछि उक्त ट्याङ्कर फिर्ता आएको थियो। आयल निगमले फेरि अर्काे ट्याङ्कर पहलमानपुर पठाएको थियो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस