सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्वारेन्टिन धनगढीका प्रमुख विदेश गएपछि आयात-निर्यात ठप्प

२०८० भदौ ४, ०७:०६ नारायण अवस्थी

धनगढी: कैलालीको धनगढीस्थित त्रिनगर नाकामा रहेको प्लान्टक्वारेन्टिन कार्यालय प्रमुख बिहिन भएको छ। साउन २८ गते कार्यालयमा कार्यरत निमित्त प्रमुख प्रमोद ठगुन्ना एक महिने तालिमका लागि विदेश गएपछि प्लान्ट क्वारेन्टिन त्रिनगर, गड्डाचौकी र अत्तरिया कार्यालय प्रमुख बिहिन बनेको छ।

तीन वटै कार्यालयको प्रमुख जिम्मेवारीमा रहेका ठगुन्ना विदेश गएपछि त्रिनगर कार्यालयमा एक जना कार्यालय सहयोगी मात्रै छन्। कार्यालय प्रमुख नहुँदा त्रिनगर नाका भएर भारत तथा तेस्रो मुलुकबाट हुने आयात ठप्प भएको हो। तर, सोमवार मात्रै खाद्य सामग्री, फलफूल र तरकारी परीक्षण गर्न कञ्चनपुरको गड्डाचौकी कार्यालयमा एक जना प्राविधिक आएको प्लान्ट क्वारेन्टिन कार्यालय गड्डाचौकीका सूचना अधिकारी अम्बादत्त विष्टले बताए।

'आज (सोमवार) मात्रै विभागबाट एक जना सरलाई काजमा पठाइएको छ। गड्डाचौकीमा आजैबाट परीक्षण सुरु हुनेछ भने धनगढीका व्यवसायीहरूसँग पनि कुरा गरेर यतै परीक्षणका लागि आउन आग्रह गरिनेछ,' उनले भने, 'विभागले गड्डाचौकि बस्ने भनेर पठाएको छ। एक महिनापछि त पुरानै सर आइहाल्नु हुन्छ।'

त्रिनगर नाका भएर दैनिक १० देखि १२ ट्रक खाद्यान्न, फलफूल र तरकारी आयात हुने गरेको छ भने गड्डाचौकी नाकाबाट दुई/तीन गाडी मात्रै सामान आयात हुने गरेको छ। त्रिनगर नाकाबाट दैनिक १० लाख राजश्व संकलन हुने भए पनि क्वारेन्टाइनमा कर्मचारी नहुँदा खाद्यान्न, फलफूल र तरकारी परीक्षण गराउन नमुना लगेर गड्डाचौकी जानुपर्ने बाध्यता छ।

त्रिनगरमा परीक्षण नहुँदा आयात र निर्यात मात्रै नभएर राजश्व संकलनमा समेत असर परेको छ। साउन २८ गतेदेखि आयात नहुँदा  दैनिक करिब  १० लाख राजश्व संकलन प्रभावित भएको त्रिनगर भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए। व्यवसायीहरूले पनि आयात-निर्यात रोकिँदा समस्या भएको बताएका छन्। साउन २८ गतेदेखि त्रिनगर नाकाबाट फलफूल, तरकारी र खाद्यान्नको आयात पूर्णरूपमा रोकिएको व्यवसायी  रसिद अलीले बताए।

'एक हप्ताभन्दा अगाडिदेखि क्वारेन्टाइन अधिकारी नहुँदा आयात रोकिएको छ। जसले गर्दा उपभोक्ताले महङ्गोमा किन्नु परेको छ,' उनले भने, 'हामीले व्यवसाय गर्न पाएका छैनौँ भने सरकारको राजस्व पनि उठ्न सकेको छैन।'

त्रिनगर नाकाबाट हुने खाद्यान्न, तरकारी र फलफूल आयात रोकिँदा व्यवसायीहरूले नेपालगंज नाकाबाट सामान आयात गर्न थालेका छन्। मङ्गवारदेखि गड्डाचौकीमा परीक्षण सुरू हुने भए पनि धनगढीबाट गड्डाचौकी जानु अव्यवहारिक र झन्झटिलो हुने व्यवसायीको गुनासो छ। दैनिक एक दर्जन बढी ठुला ट्रकमा त्रिनगरबाट आयात हुने भएकाले क्वारेन्टाइन अधिकारी त्रिनगर कार्यालयमा हुनुपर्ने माग व्यवसायीको छ।

सीमा नाकामा सरकारले प्लान्ट, पशु र खाद्य क्वारेन्टिन कार्यालय खोलेको छ। प्लान्ट क्वारेन्टाइनले खाद्यान्न, तरकारी र फलफूलमा भएको रोग तथा किरा परीक्षण गर्छ। त्रिनगर नाका हुँदै ठुलो परिमाणको तरकारी, फलफूल, चामल, दाल, बदाम, तोरी, पशुआहार, मकै र गहुँ भारत तथा तेस्रो मुलुकबाट समेत आयात हुने गरेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस