सुदूरपश्चिममा यसरी मनाइयो नागपञ्चमी

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र आज धुमधामसँग नागको पुजा गरेर नागपञ्चमी धुमधामसँग मनाइएको छ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सोमवार परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नाग टाँसेर मनाइएको छ। यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो। नागपञ्चमीको अवसरमा सोमवार श्रद्धालुले दूध चढाएर नागको पूजा गरेका छन्।
हिन्दु धर्मावलम्बीले हरेक वर्ष साउन शुक्ल पञ्चमीमा नागपञ्चमी पर्व मनाउने गरेका छन्। आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा हुने धार्मिक विश्वास छ। वैज्ञानिकरूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ।

