सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चोरीका शृङ्खलाबद्ध घटना, १७७ मुद्दा अदालतमा दर्ता

२०८० भदौ ४, १२:५६ खबर संवाददाता

धनगढीः कैलालीमा चोरीका घटना बढ्दै गएको छ। यस्ता घटना जिल्लाभित्र दैनिक रुपमा बढ्न थालेपछि चोरी तथा डाँका कसुर अन्तर्गत जिल्ला अदालत कैलालीमा एक सय ७७ मुद्दा दर्ता भएका छन्। केही वर्षयता जिल्लाभित्र शृङ्खलाबद्धरूपमा चोरीका घटना बढेका छन्। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलालीमा उच्च सुरक्षाका बिच पनि चोरीका घटना बढ्दै गएपछि कैलाली प्रहरीलाई चुनौती थपिएको छ।

प्रदेशको अस्थायी राजधानी धनगढीमा शृङ्खलाबद्ध चोरीका घटना बढ्दै गएपछि सर्वसाधारण त्रसित बनेका छन्। प्रदेश राजधानीमै फितलो सुरक्षा व्यवस्थाका कारण चोरी हुने क्रम बढेको स्थानीयवासीको गुनासो छ। आर्थिक वर्ष २०७९/८० मा साधारण चोरी अन्तर्गत एक सय ५४, नकवजनी चोरी अन्तर्गत १६ र डाँका चोरी अन्तर्गत ७ गरी एक सय ७७ मुद्दा अदालतमा दर्ता भएका हुन्।

साधारण चोरी अन्तर्गत परेका कुल एक सय ५४ मध्ये एक सय १७ मुद्दाको फैसला भएर ३७ मुद्दाको अन्तिम टुंगो लाग्न बाँकी छ। त्यस्तै नकवजनी चोरी अन्तर्गत कुल १६ मुद्दामध्ये चार मुद्दाको मात्र फैसला भएको छ भने १२ मुद्दाको अझै अन्तिम टुंगो लाग्न बाँकी छ। डाँका चोरी अन्तर्गत कुल ७ मध्ये तीनवटा मुद्दाको टुंगो लागेको छ भने बाँकी चार मुद्दाको अझै अन्तिम टुंगो लागेको छैन्।

कैलालीमा आर्थिक वर्ष २०७३/७४ मा १८ चोरीका घटना घटेकामा चार सवारी चोरी भएकामा आर्थिक वर्ष २०७४/७५ मा २६ चोरीका घटना घटेका छन्। यस्तै आर्थिक वर्ष २०७५/७६ मा ९६ चोरीका घटना घटेकामा सात सवारी चोरीका रहेका छन्। आर्थिक वर्ष २०७६/७७ मा ६० तथा २०७७/७८ मा ६४ र आर्थिक वर्ष २०७८/७९ मा ६६ चोरीका घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। प्रहरी तथ्याङ्कलाई हेर्ने हो भने चोरीका घटना पनि वर्षेनी बढ्दै गइरहेका छन्।

कमेन्ट लोड गर्नुस