सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ७ जना चालक प्रहरी नियन्त्रणमा

२०८० भदौ २, ०२:३९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले लागु पदार्थ सेवन चेक गर्न सुरु गरेपछि चेकजाँचका क्रममा ७ जनालाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी भरतबहादुर बोहराले काठमाडौंबाट प्रविधियुक्त लागुऔषध परीक्षण कीट मगाएर चेकजाँच गर्ने काम भइरहेको बताए।

ट्राफिक प्रहरीलाई सो कीट उपलब्ध गराएर चेकजाँच गर्ने काम भइरहेको हो। शुक्रवार र शनिबार गरी ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। शुक्रवार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का ३३ वर्षीय भीमराज अवस्थीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनलाई धनगढीको ६ लेन सडकमा चेक गर्दा पोजेटिभ देखाएको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको थियो। त्यस्तै आज गरिएको परीक्षणमा थप ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा चेक गर्दा उनीहरु समातिएका हुन्।

टिप्पर चालक शुक्लाफाटा नगरपालिका–५ का ३४ वर्षीय दिवाकर भुजेल, अर्का टिप्पर चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३० वर्षीय रमेश भट्टराई, फोर्स चालक गोदावरी नगरपालिका–८ का ३१ वर्षीय यादव बोहरा, बसका चालक गोदावरी नगरपालिका–१२ का ३६ वर्षीय महादेव जोशी, विङ्गरका चालक धनगढी उपमहानगरपालिका–३ का २५ वर्षीय बिदुस राना र विङ्गरकै चालक वेदकोट नगरपालिका–१० का ३१ वर्षीय अर्जुन रावललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस