सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल फेला परेपछि...

२०८० भदौ १, ०१:०९ खबर संवाददाता

धनगढीः कैलालीमा पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल फेला परेपछि हंगामा मच्चिएको छ।

नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल फेला परेको छ। बिहीवार आयल निगम धनगढीबाट पहलमानपुरको मित्र ट्रेडर्समा पठाइएको पेट्रोलको ट्यांकरमा डिजेल फेला परेको हो। पहलमानपुरमा रहेको पेट्रोल पम्पका लागि पठाइएको ट्यांकरमा रहेको पेट्रोल मापन गर्दा मात्रा कम फेला परेको र च्यामबरबाट पेट्रोल बाल्टीमा निकालेर परीक्षण गर्दा डिजेल मिसावट गरिएको थाहा भएको मित्र ट्रेडर्सका सञ्चालक अजय बमले बताए।

नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले बिहीवार पठाएको ना ५ ख ७७३ नम्बरको ट्यांकरमा पेट्रोलमा डिजेल मिसावट गरेको पाइएपछि इलाका प्रहरी कार्यालय सुख्खडले ट्यांकर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख विरेन्द्र विश्वकर्माले ट्यांकर नियन्त्रणमा लिएको बताए।

उनले ट्यांकरको एक च्याम्बरको पाइप खोलेर पेट्रोल बाल्टीमा भर्दा ३०/३५ लिटर डिजेल मिसावट भएको देखिएको बताए। तर, अघिल्लो पटक डिजेल बोकेको ट्यांकरको पाइपम रहेको हुन सक्ने बताएका छन्। पुरै ट्यांकरको पेट्रोलमा मिसावट भए नभएको परीक्षणपछि मात्रै थाहा हुने प्रहरी नायव निरीक्षक विश्वकर्माले बताए। आयल निगम धनगढीको टोली आएर आजै परीक्षण हुने बताइएको छ।

कमेन्ट लोड गर्नुस