सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा साढे २४ अर्ब लगानीका १५ हजार उद्योग दर्ता, २३२ खारेज

२०८० भदौ १, ०९:४८

वीरेन्द्र भट्ट, धनगढीः कैलाली जिल्लामा साना तथा घरेलु उद्योगको संख्या १५ हजार ९१ पुगेको छ। तर दर्ता भएका अधिकांश उद्योग सञ्चालनमा भने छैनन्। वर्षेनि उद्योगको नवीकरण हुँदै आए पनि सञ्चालनमा आएका उद्योगको संख्या भने निकै न्युन छ। अधिकांश उद्योगहरु वर्षेनि नवीकरण भइरहने तर सञ्चालनमा नआउने समस्या अहिले पनि कायमै छ।

जिल्लाभित्र दर्ता भएका उद्योगको लगानी प्रस्ताव २४ अर्ब ५२ करोड ८६ लाख १९ हजार ७२१ पुगेको छ। उद्योग दर्ता, लगानी र रोजगारी प्रस्ताव ठुलो संख्या देखिए पनि प्रायः उद्योग सञ्चालनमा छैनन्। कञ्चा पदार्थको समस्या, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नु लगायत कारण जिल्लाभित्र दर्ता भएका उद्योग सञ्चालनमा कठिनाई हुने गरेको उद्योग सञ्चालकहरुले गुनासो गर्ने गरेको बताउँछन घरेलु तथा साना उद्योग कार्यालय कैलालीका उद्योग अधिकृत कोमलप्रसाद ओझा।

‘उद्योग, दर्ता, लगानी र रोजगारी प्रस्ताव ठुलै संख्या देखिए पनि विविध कारण दर्ता भएका सबै उद्योग सञ्चालनमा देखिदैनन्।’ कोभिड र आर्थिक मन्दी लगायत कारण जिल्लाभित्र पछिल्लो तीन वर्षयता उद्योग दर्ता हुनेक्रम घट्दै गएको छ। आर्थिक वर्ष २०७७/७८ मा दुई हजार ९६८ उद्योग दर्ता भएकोमा यो संख्या आर्थिक वर्ष २०७८/७९ मा पुगेर दुई हजार ४३७ मा सिमित बन्न पुगेको हो।

घरेलु तथा साना उद्योग अन्तर्गत जिल्लाभित्र उत्पादनमुलक, कृषिमा आधारित, वन, निर्माण, पर्यटन लगायतका उद्योग दर्ता हुँदै आए पनि पछिल्लो समय आर्थिक मन्दी लगायत कारण यस्ता उद्योग दर्ता हुनेक्रम घट्दै गएको उद्योगथ अधिकृत ओझाले बताए।
जिल्लाभित्र आर्थिक वर्ष २०७९/८० मा उद्योग दर्ताक्रम अघिल्लो आर्थिक वर्षको तुलनामा आधाभन्दा बढीले घटेको छ।

गत वर्ष एक हजार एक सय ९७ साना तथा घरेलु उद्योग मात्र दर्ता भएको देखिएको छ। ती उद्योगमा लगानी प्रस्ताव दुई अर्ब २२ करोड १७ लाख ३२ हजार ३१० र महिला रोजगारी एक हजार दुई सय ३० तथा पुरुष रोजगारी तीन हजार चार प्रस्ताव गरिएको छ। सो अवधिमा उद्योग दर्ता र लगानी प्रस्ताव घटेसँगै आर्थिक कठिनाइका कारण उद्योग चलाउन नसकिने भन्दै दुई सय ३२ उद्योग सञ्चालकले उद्योग खारेजीको निवेदन दिएपछि ती उद्योगको दर्ता खारेज गरिएको छ। त्यस्तै कार्यालयले गत वर्ष उद्योग दर्ता, नवीकरण लगायतबाट गरी ५२ लाख १६ हजार पाँच रुपैयाँ राजस्व संकलन गरेको देखिएको छ।

कमेन्ट लोड गर्नुस