सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका भौतिक मन्त्री देउवा योजनाको सूचिसहित सडकमा

२०८० साउन ३२, ०६:५६ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा नयाँ योजना कार्यान्वयनका लागि योजनाको सूचिसहित स्थलगत निरीक्षणमा निस्किएका छन्। मन्त्री देउवा प्राविधिकसहित नयाँ योजना कार्यान्वयन स्थलमा पुगेका हुन्। 

मन्त्री देउवा नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ देखि ६ सम्मका विभिन्न १५ वटा सडक बिहीवार निरीक्षण गरेको छ। ती १५ वटा सडक निर्माणका लागि यस आर्थिक वर्षमा प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। प्रदेशको राजधानी तथा प्रदेशको एउटा मात्र उपमहानगरपालिका रहेको धनगढीभित्रका यी सडकका कारण नागरिकले दुःख पाउँदै आएका छन्। 

मन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा योजना कार्यान्वयनमा समस्या रहे÷नरहेको, जग्गाको भोगाधिकार, हालको अवस्था र स्थानीयको गुनासा तथा सुझाव लिएका छन्। योजना कार्यान्वयनमा प्राविधिक हिसाबले के–कस्ता समस्या छन्? भनेर पनि हरेक योजनामा प्राविधिकलाई सोधपुछ गरेका छन्।

मन्त्री देउवाले योजना निरीक्षणका क्रममा जुन वडाको योजना हो, त्यस वडाका वडाध्यक्षलाई पनि सँगै लिएका छन। सडक निर्माणका लागि बोलपत्र आह्वान हुनु अघि सडक क्षेत्र खाली गर्न सहयोग गर्न वडाअध्यक्षलाई मन्त्री देउवाले भनेका छन्। मन्त्री देउवाले भने, ‘प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। तर समयमै काम सम्पन्न गर्न सबैको सहयोग र समन्वय आवश्यक छ। त्यसैका लागि अब कार्यान्वयन गर्नुपर्ने योजनाको स्थलगत निरीक्षण सुरु गरेको छु।’

अवस्था नहेरी ठेक्का लगाउँदा समयमै काम सम्पन्न पनि नहुने र विभिन्न अवरोध आउने हुँदा ठेक्का हुनुपहिले नै समन्वय आवश्यक रहेको मन्त्री देउवाले बताए। उनले भने, ‘काममा गुणस्तर र समयमै सम्पन्न गर्ने गरी योजनाको ठेक्का लगाउँछाैँ, भोलि निर्माण व्यवसायीले काममा लापरवाही गर्ने मौका पाउने छैनन्, ठेक्का भएका योजना समयमै सम्पन्न हुनेछन्।

स्थानीय तहले डिपिआर तयार गरी मन्त्रालयलाई पठाएअनुसार बजेट विनियोजन गरेको र त्यहीअनुसार काम हुने उनले बताए। मन्त्री देउवाले भने, ‘आजबाट नयाँ योजना कार्यान्वयनको चरणका रुपमा स्थलगत निरीक्षण सुरु गरेका छौँ, यसलाई निरन्तरता दिन्छौँ र भदौ अन्तिम सातासम्म ठेक्काको सूचना प्रकाशन गर्ने गरी तयारी अघि बढाएका छौँ।’
 

कमेन्ट लोड गर्नुस