सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा वडाअध्यक्षलाई कुटपिट गर्ने युवा एमालेबाट निष्कासित

२०८० साउन ३०, ०५:३३ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा वडा अध्यक्षलाई कुटपिट गर्ने युवालाई एमालेले पार्टीबाट निष्कासित गरेको छ। नेकपा एमाले राष्ट्रिय युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा वडाअध्यक्षलाई कुटपिट गर्ने ७ जनालाई पार्टी सदस्य नरहने गरी निष्कासन गरेको हो।

मंगलवार प्रेस वक्तव्य जारी गर्दै जिल्ला कमिटी कार्यबाहक अध्यक्ष लक्ष्मी बुढाले सोमवार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले निष्कासनको निर्णय गरेको जानकारी दिइन्।

बैठकले जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र केशव चन्द तथा प्रबिन बोगटी, रोहित कुँवर र नविन चन्दलाई पार्टी सदस्य नरहने गरी निष्कासित गरेको छ। बैठकले कुटपिटलाई सांघातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानूनबमोजिम कारवाही गर्न प्रशासनलाई आग्रह गरेको छ।

अधिवेशनको बन्दसत्र चलिरहेका बेला निर्वाचन समितिको निर्णयअनुसार निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष समेत रहेका पार्टी जिल्ला कमिटी सदस्य रविन्द्रप्रसाद देवकोटामाथि कुटपिट भएको थियो। घाइते देवकोटाको काठमाडौंमा उपचार भइरहेको छ।

अधिवेशनका लागि केन्द्रबाट आएका पार्टी पोलिटब्युरो सदस्य तथा युवा फाँट इन्चार्ज महेश बस्नेत, युवासंघका केन्द्रीय उपाध्यक्ष महाराजा गुरुङ लगायतले सम्झाइबुझाई गर्दा समेत नमानी कुटपिट गरेर अराजकता, अनुशासनहिनता र गुण्डागर्दी गरेको भन्दै अध्यक्षमण्डलले संलग्नमाथि कारबाहीका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको थियो। कुटपिटपछि निर्वाचित कमिटी घोषणा गरेर बधाई तथा शुभकामना दिँदै इन्चार्ज बस्नेतले गुण्डागर्दी गर्नेलाई कारबाही हुने प्रतिबद्धता जनाएका थिए। अधिवेशनबाट दिनेश विष्टको अध्यक्षतामा जिल्ला कमिटी निर्वाचित भएको थियो।

सचिवालय बैठकले कुटपिटमा संलग्न देखिएका र समानान्तर गतिविधिमा संलग्न अन्य पार्टी सदस्यलाई आवश्यक कारवाही गर्न कार्यबाहक अध्यक्ष लक्ष्मी बुढालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको वक्तव्यमा उल्लेख छ ।

कमेन्ट लोड गर्नुस