सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार वर्षको अवधिमा कैलालीमा साढे पाँच सय महिला बने यौन हिंसाको सिकार

२०८० साउन ३०, ०१:४० नारायण अवस्थी

धनगढीः कैलालीमा पछिल्लो चार वर्षको अवधिमा साढे पाँच सय यौन हिंसाका घटना प्रहरीमा दर्ता भएका छन्। जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धक, करणी गरि कर्तव्य ज्यान, बालयौन दुराचार र अप्राकृतिक मैथुनमा संलग्न ५६२ उजुरी प्रहरीमा दर्ता भएका हुन्।

कैलाली प्रहरीमा चार वर्षमा ३९२ जबरजस्ती करणीका घटना दर्ता भएका छन्। चार वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी ११४ जबरजस्ती करणीका उजुरी कैलाली प्रहरीमा परेका छन्। आर्थिक वर्ष २०७७/७८ मा ९९ उजुरी, आर्थिक वर्ष २०७६/७७ मा ९२ र गत आर्थिक वर्ष २०७९/८० मा ८७ घटना प्रहरीमा दर्ता भएका छन्।

सो अवधिसम्म कैलालीमा १३५ जबरजस्ती करणी उद्योगका उजुरी परेका छन्। जबरजस्ती करणी उद्योगका घटना पनि आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी ४३ घटना घटेको प्रहरी तथ्याङ्कले देखाएको छ। यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ४० उजुरी, आर्थिक वर्ष २०७६/७७ मा २८ र आर्थिक वर्ष २०७९/८० मा जबरजस्ती करणी उद्योगका २४ उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेका छन्।

त्यस्तै १९ वटा बालयौन दुराचारको उजुरी प्रहरीमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७६/७७ मा ३ उजुरी, आर्थिक वर्ष २०७७/७८ मा सर्वाधिक ९ उजुरी परेका छन्। यसैगरी बालयौन दुराचारको आर्थिक वर्ष २०७८/७९ र गत आर्थिक वर्षमा समान ८/८ उजुरी प्रहरीमा परेका छन्।

जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा बितेका चार वर्षमा अप्राकृतिक मैथुनका ११ उजुरी परेका छन्। आर्थिक वर्ष २०७७/७८ मा २ र आर्थिक वर्ष २०७९/८० मा ८ वटा अप्राकृतिक मैथुनका उजुरी दर्ता भएका छन्। सो अवधिमा जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा चार उजुरी प्रहरीमा दर्ता भएका छन्।

आर्थिक वर्ष २०७६/७७ मा एक उजुरी, आर्थिक वर्ष २०७७/७८ मा २ र गत आर्थिक वर्षमा जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धकको एक उजुरी परेको छ। गत आर्थिक वर्षमा करणी गरि कर्तव्य ज्यानको एक उजुरी कैलाली प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस