कैलाली प्रहरीमा महिला हिंसाको चाङ, पीडितका साढे ६ सय उजुरी दर्ता
धनगढीः घरेलु हिंसाबाट कैलालीमा करिब दुई हजार महिला पीडित भएको तथ्यांक सार्वजनिक भएको छ। जिल्लाभित्र चार वर्षको अवधिमा एक हजार ८ सय बढी महिला घरेलु हिंसाबाट पीडित भएका हुन्। सो अवधिमा साढे ६ सय लैङ्गिक हिंसाका निवेदन प्रहरीमा दर्ता भएका छन्।
आर्थिक वर्ष २०७६/७७ मा ४३७ वटा घरेलु हिंसाका उजुरी प्रहरीमा दर्ता भएका छन्। जसमध्ये ३६८ उजुरीमा मिलापत्र गरिएको छ भने ४७ उजुरी सम्बन्धित निकायमा गएका र २२ वटा उजुरीमा सम्बन्धित व्यक्ति सम्पर्कमा नआउँदा काम बाँकी रहेको छ।
आर्थिक वर्ष २०७७÷७८ मा घरेलु हिंसाका ५५२ उजुरी कैलाली प्रहरीमा दर्ता भएका छन्। जसमध्ये ४३८ उजुरीको मिलापत्र गरिँदा ६१ उजुरी सम्बन्धित निकायमा गएका छन्।
सो अवधिसम्म २२ घटनाका उजुरीकर्ता र अर्को पक्ष सम्पर्कमा नआएको प्रहरी तथ्याङ्कले देखाएको छ। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा भने घरेलुु हिंसाको संख्या केही घटेको छ। सो अवधिमा ४७० घरेलु हिंसाका घटनामा ३४९ को मिलापत्र, ३१ अर्को निकायमा गएका छन् भने ९० घटना तामेलिमा राखिएको छ।
गत आर्थिक वर्ष कैलालीमा ३८३ घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका छन्। जसमध्ये ३३८ घटनामा मिलापत्र हुँदा २३ उजुरी सम्बन्धित निकायमा जाँदा ३२ उजुरी भने तामेलिमा परेका छन्। जिल्लाभित्र चार वर्षको अवधिमा ६ सय ६७ लैङ्गकि हिंसाका घटना प्रहरीमा दर्ता भएका हुन्। आर्थिक वर्ष २०७६/७७ मा १७६ घटना दर्ता भएकामा १४६ मा मिलापत्र, २१ उजुरी सम्बन्धित निकाय र ९ उजुरी तामेलीमा राखिएको छ।
यसैगरी आर्थिक वर्ष २०७७/७८ मा सर्वाधिक २३३ वटा लैङ्गकि हिंसाका उजुरी कैलाली प्रहरीमा दर्ता भएका छन्। सो अवधिमा १७० मा मिलापत्र, ३२ तामेली र ३१ उजुरीलाई प्रहरीले आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ। आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा कम १२७ लैङ्गिक हिंसाका उजुरी प्रहरीमा आएकोमा सबैमा मिलापत्र गराइएको हो।
गत आर्थिक वर्षमा १३१ लैङ्गिक हिंसाका उजुरी प्रहरीकोमा आएकामा १२९ उजुरी मिलापत्र मार्फत समाधान गरिएको भने १ तामेली र एउटा उजुरीलाई थप कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ। प्रहरीले घरेलु हिंसा र लैङ्गकि हिंसामा दुबै पक्ष मन्जुर भए मिलापत्र गराएर घर फर्काउने गरेको छ भने मिल्न नमाने आवश्यक कारबाहीका लागि अदालत पठाउने गरेको छ।