कञ्चनपुरका वडाध्यक्षमाथि कुटपिट गर्ने ८ जना विरुद्ध जाहेरी
कञ्चनपुरः भीमदत्त नगरपालिका–१८ का वडाध्यक्षमाथि कुटपिट गर्ने ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएको छ। घाइते वडाध्यक्ष रविन्द्र देवकोटाकी आमा कमलाले दिएको जाहेरी आइतवार दर्ता भएको हो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीले जाहेरी दर्ता भएको र आरोपितहरुलाई पक्राउ गरिने बताए। शनिवार दिउँसो युवा संघको जिल्ला अधिवेशनका क्रममा विवाद हुँदा असन्तुष्ट समूहले अध्यक्ष देवकोटमाथि आक्रमण गरेको थियो। हाल उनको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा युवा फाँट इन्चार्ज महेश बस्नेतले शुक्रवार अधिवेशनको उद्घाटन गरेका थिए। उनले नै घोषणा गरेको युवासंघको कमिटीको विरोधमा अर्को समूहले समानान्तर कमिटीसमेत गठन गरेको छ। त्यसअघि निर्वाचन कार्यतालिका तथा मतदाता नामावली टाँस्ने बेला अध्यक्ष देवकोटामाथि आक्रमण भएको हो।