सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट १०४ महिला बेपत्ता, २९ बालबालिकाको अवस्था पनि अज्ञात

२०८० साउन २८, ०६:५८ नारायण अवस्थी

धनगढीः कैलालीमा महिला तथा बालबालिका हराउने समस्या डरलाग्दो रुपमा बढेको छ। जिल्लाका विभिन्न स्थानबाट गरी तीन वर्षको अवधिमा एक हजार ९२२ महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकले देखाएको छ। हराएकामध्ये महिलाको संख्या सबैभन्दा बढी एक हजार २३९, बालिका ४६० र २२३ बालक रहेका छन्।

आर्थिक वर्ष २०७७/७८ मा कैलालीबाट ५२४ महिला तथा बालबालिका हराएकामा ३७९ महिला, ९८ बालिका र ४७ बालक रहेको प्रहरी कार्यालयको अभिलेख छ। सो अवधिमा हराएका मध्ये ५१३ जना फेला परेका छन् भने १० महिला र एक बालक अझै फेला परेका छैनन्।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा कैलालीबाट ६६५ महिला र बालबालिका हराएको प्रहरी तथ्याङ्कले देखाएको छ। सो अवधिमा खोजतलासको क्रममा ५९८ जना फेला परेका छन् भने ४९ महिला, १३ बालिका र ५ बालकसहित ६७ जना अझैसम्म बेपत्ता छन्। गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी ७३३ महिला र बालबालिका हराएको पाइएको छ।

तीमध्ये ६७८ फेला परेका छन भने ४५ महिला, ९ बालक र एक बालिका अझै बेपत्ता छन्। जिल्लामा महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएपछि सरोकारवाला चिन्तित बनेका छन्। हराएकामध्ये धेरै जसो महिला तथा बालबालिका लामो समयसम्म फेला नपर्दा आफन्त र परिवारका सदस्य चिन्तित छन्।

तीन वर्षको अवधिमा एक हजार ९२२ महिला र बालबालिका बेपत्ता भएकामा एक हजार ७८९ जना फेला परे पनि १०४ महिला, १५ बालक र १४ बालिका भने फेला परेका छैनन्। प्रहरीले हराएका महिला तथा बालबालिकाको खोजी गर्ने काम गर्दै आएको भए पनि यति धेरै संख्यामा किन महिला तथा बालबालिका हराउँछन भन्ने विषयमा भने ठोस रुपमा अध्ययन हुन सकेको छैन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस