सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ठगीको माध्यम बन्दै चेक अनादर, ‘बाउन्स’ भए यस्तो हुन्छ कारबाही

२०८० साउन २८, ०१:०८

वीरेन्द्र भट्ट, धनगढीः मिटर ब्याज, ढुकुटी लगायतका अवैध लेनदेनका क्रियाकलापले पछिल्लो समय कैलालीमा चेक अनादरका घटना बढ्दै गएका छन्। कतिपयले भने ठगीको गतिलो माध्यमका रुपमा चेक बाउन्सलाई लिने गरेका छन्। चेक अनादरका घटना बढेसँगै त्यसको समाधानका लागि अदालत पुग्नेहरुको संख्या दिनहुँ बढ्दो छ।

चेक बाउन्सका कारण बैकिङ कसूर अन्तर्गत उजुरी गर्नेको संख्या बढेको छ। उजुरी गर्नेमा जग्गा कारोबारी, घरजग्गा नामसारी, व्यापार र ब्याजमा पैसा लगाउनेहरू बढी छन्। आर्थिक वर्ष २०७९/८० मा यस्ता चार सय ८ थान चेक अनादर सम्बन्धीका मुद्दा अदालतमा दर्ता भइसकेका छन्। त्यसमध्ये एक सय ९७ वटा फैसला भइसकेका छन्।
किन बढे चेक अनादरका घटना?
जिल्ला अदालतमा गत आर्थिक वर्षभरी धेरै दर्ता भएका मुद्दामा चेक अनादरका मुद्दा तेस्रो नम्बरमा छन्। अहिले मुद्दा दर्ता गर्दा अदालतमा शुल्क नलाग्ने भएपछि मुद्दा बढेको अदालतको तर्क छ। कैलाली अदालतमा अहिले पनि चेक अनादरका दुई सय ११ मुद्दाको फैसला हुन बाँकी छ। चेक बाउन्सको समस्या बिकराल बन्दै गएको अधिकारीहरु बताउँछन्।

तर अधिवक्ताहरू भने चाँडै धनी बन्ने सपनामा गैरकानुनी मानिएको मिटर ब्याज र ढुकुटी जस्ता क्रियाकलापमा संलग्नहरूले बाउन्स चेक काट्ने क्रम बढेको बताउँछन्। धनी बन्ने महत्वकांक्ष बोकेका मानिसहरूले गर्दा चेक अनादरका मुद्दा र घटना बढेका छन्। चेक लिने र दिने दुवै पक्षले विनिमय अधिकारपत्र ऐनलाई आत्मसाथ गर्न नसक्दा पनि यसो हुने गरेको छ। तर बैंकर्सहरु भने वित्तीय साक्षरताको अभावले यस्ता घटनाहरू बढेको बताउँछन्। 
के हो चेक अनादर? 
आफ्नो खातामा रकम नभएको थाहा हुँदाहुँदै पनि ऋणाीले धनीलाई बुझाउनुपर्ने जति रकमको चेक काटेर दिनु चेक अनादर हो। कुनै पनि व्यक्तिले कसैलाई पनि विना रकमको चेक काट्न नपाउने प्रावधान छ। तर त्यसरी चेक काटेर दिएपछि बैङ्कको परिपत्र अनुसार तीन पटकसम्म पनि दिने व्यक्ति बैंकको सम्पर्कमा नआएपछि कानुनी कारबाहीका लागि अगाडी बढ्नुपर्ने हुन्छ। 
‘बाउन्स’ भए यस्तो कारबाही
अदालतले तीन पटकसम्म चेक बाउन्स गरिसकेपछि सात दिनको सूचना काट्दासम्म पनि दिने व्यक्ति बैंकको सम्पर्कमा नआए बैंकले नै उसको नाम कालोसूचीमा राख्न भनेर कर्जा सूचना केन्द्रलाई जानकारी गराइसकेपछि ऋणीको नाम कालोसूचीमा पर्छ। कानुनमा यस्तो कार्य गर्ने व्यक्तिलाई तीन महिनासम्मको कैद र विगो बराबरको बिगो भराइदिने व्यवस्था छ।

बैंकिङ कसुर तथा सजाय ऐनको परिच्छेद २ मा बैंकिङ कसुरबारे उल्लेख छ। जसमा ‘आफूले काटेको चेकलाई पुग्ने रकम आफ्नो खातामा नभएको जानीजानी चेक काटी भुक्तानी लिन दिन नहुने’ उल्लेख छ। चेकमा उल्लिखित बराबरको रकम खातामा छैन तर कसैले चेक काटेको छ भने त्यस्तो चेक बाउन्स हुन सक्छ। चेक बाउन्स हुनलाई बैंकले चेक काटिएको तर सो बराबर रकम नभएको भनी लिखित रूपमा दिनुपर्छ।

चेक अनादरका घटना बढ्नुमा आर्थिक अभाव र आम मानिसमा कानुनका बारेमा जानकारी नहुनुलाई मुख्य कारणको रुपमा लिने गरिएको छ। बैंकिङ कसुर सजाय ऐन २०६४ आउनुअघि पनि चेक अनादरका घटना धेरै हुने गरेका थिए। पहिले चेक लिएर भुक्तानी लिन जाँदा साटिएन भने जोसँग रकम लिनुपर्ने हो उसैलाई गाली गर्ने, दबाब दिने गरिन्थ्यो। अहिले भने मानिसले कानुनको सहारा लिन थालेका छन्।

कमेन्ट लोड गर्नुस