सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ११ महिनादेखि प्लास्टिकमुक्त, लुकीछिपी राखेको २७ क्वीन्टल जफत

२०८० साउन २८, १०:३२ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरले प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको ११ महिनामा भएको छ। सो अवधिसम्म विक्रीवितरणका लागि भित्र्याइएको २७ क्वीन्टल प्रतिबन्धित प्लास्टिक उपमहानगरले जफत गरेको छ। प्लास्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धि ऐन बनाएर लागु गरेको उपमहानगरले गत वर्षको माघदेखि जरिवाना उठाउन थालेको छ।

सात महिनामा अवैध प्लास्टिक प्रयोग र बिक्रीवितरण गरे बापत पौने चार लाख जरिवाना असुल गरिएको उपमहानगरका वातावरण इन्जिनियर अशोक अवस्थीले बताए। धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले गत वर्षको असोज १ गतेबाट पुनः प्रयोगमा ल्याउन नमिल्ने प्लास्टिक प्रयोग र बिक्रीवितरण रोक लगाउने निर्णय गरेको थियो।

असोज १ गतेबाट प्लास्टिकका झोला, गिलास, प्लेट र सुर्ती र गुट्खाको कभर प्रयोगमा प्रतिबन्ध लगएको उपमहानगरले पुसमा प्लास्टिक प्रतिबन्धलाई नियमन गर्न कानून निर्माण गरेको थियो। २०७९ पुस २५ मा बसेको नगर सभाले प्लास्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी ऐन, २०७९ पारित गरेको थियो। कानूनमा पुनः प्रयोगम ल्याउन नमिल्ने प्लास्टिकको झोला, चम्चा, गिलास, प्लेट, फूल तथा माला प्रयोगमा पूर्ण प्रतिबन्ध गरिएको उपमहानगरपालिकाका वातावरण इन्जिनियर अवस्थीले बताए।

‘धनगढीमा प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएपछि उपमहानगरले नियमित बजार अनुगमनमा प्लास्टिक प्रयोग भएको छ; छैन भनेर निगरानी गर्दै आएको छ,’ उनले भने, ‘नियमित गरिने बजार अनुगमनमा पनि प्लास्टिकको प्रयोग भए–नभएको हेर्छौँ भने नगर प्रहरीले पनि दैनिक रुपमा प्लास्टिकजन्य वस्तुको ओसारपसार, बिक्रीवितरण र प्रयोग रोक्न निगरानी गर्दै आएको छ।

११ महिनाको अवधिमा धनगढीबाट उपमहानगरले २७ क्वीन्टल प्रतिबन्धित प्लास्टिक जफत गरेको छ।’ स्वास्थ्य र वातावरणका लागि हानिकारक मानिएको कालो प्लास्टिक र पुनः प्रयोग र पुनः चक्रण गर्न नमिल्ने प्लास्टिक प्रयोगमा धनगढीमा कडाइ गरिएको छ। बजार क्षेत्रमा नियमित अनुगम भए पनि ग्रामीण क्षेत्रमा भारतबाट लुकाएर ल्याइएका प्लास्टिक झोलाको बिक्रीवितरणमा पूर्णतया रोक लगाउन सकिएको छैन।

तर, जनचेतना बढाउदै र निगरानी गर्दै प्लास्टिकजन्य वस्तुको प्रयोग निमिट्यान्न पार्ने लक्ष्य उपमहानगरको छ। बजार अनुगमन र नगर प्रहरीले निरीक्षण गर्दा फेला परेको प्लास्टिकजन्य वस्तुको बिक्रीवितरण र ओसारपसार गर्नेहरूबाट सात महिनामा तीन लाख ७५ हजार जरिवाना असुल गरिएको इन्जिनियर अवस्थीले बताए। उपमहानगर क्षेत्रमा प्लास्टिकजन्य फोहर बढ्दै जाँदा जनस्वास्थ्य  र वातावरणमा प्रतिकुल असर परेको भन्दै नगरलाई सफा, स्वच्छ, स्वस्थ, सुन्दर र हरियालीयुक्त बनाउन नगर क्षेत्रभित्र प्लास्टिकजन्य वस्तुको उत्पादन, बिक्री वितरण, भण्डारण र प्रयोगमा निषेध गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस