सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अजयमेरुद्धारा सहिद परिवारलाई सम्मान

२०८० साउन २७, ११:५० खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ। विभिन्न संघर्ष एवं परिवर्तनको आन्दोलनमा गाउँपालिका क्षेत्रबाट सरिक हुने क्रममा सहिद भएका चार जनाको परिवारलाई पालिकाले सम्मान गरेको हो।

एक औपचारी कार्यक्रमका बिच गाउँपालिकामा रहेका चार सहिदका परिवारलाई ३२ इन्ची टिभी र सम्मान पत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रशाद भट्ट विकाशले बताए। ‘गाउँपालिकाले सहिद सम्मान कार्यक्रमलाई निरन्तरता दिएको हो,’ उनले भने, ‘त्यस्ता परिवारको योगदानकै कारण प्राप्त व्यवस्थाका कारण तीन तहको सरकार बनेको छ।

यस्तो अवस्थामा परिवारको सम्मान गर्नु स्थानीय सरकारको कर्तव्य हो।’ सहिद परिवारका सदस्यलाई गाउँपालिले अन्य कार्यक्रमहरुमा पनि प्रोत्साहन गर्ने गरेको अध्यक्ष भट्टले बताए। सम्मानपछि बोल्दै सहिद परिवारका तर्फबाट सहिद गौतम बोहराका परिवारका सदस्य माया बोहराले सहिद भएकाको परिवारलाई पालिकाले सम्मान गरेकोमा खुसी व्यक्त गरिन्।

आर्थिक वर्ष २०७९ ८० को वार्षीक स्विकृत कार्यक्रम अनुसार सहिद परिवारलाई सम्मान गरिएको र चालु आर्थिक वर्षमा पनि सहिद सम्मान कार्यक्रम राखेको गाउँपालिका प्रबक्ता शिवराज भट्टले बताए। 

कमेन्ट लोड गर्नुस