सुदूर नेपाललाई विश्वसँग जोड्दै

आन्तरिक राजश्व कार्यालय धनगढीको राजस्व असुलीमा निरन्तर गिरावट

२०८० साउन २७, १०:१२ नारायण अवस्थी

धनगढीः आन्तरिक राजस्व कार्यालय धनगढीको राजस्व असुलीमा गिरावट आएको छ। व्यवसायीक फर्म दर्ता गराउनेको संख्या समेत घट्दै गएपछि कार्यालयको राजस्व असुलीमा कमि आएको हो। आयकर, मूल्य अभिवृद्धि कर, सरकारी र व्यक्तिगत पान नम्बर लिनेको संख्या घट्दै गएको छ। यस्तै, तीन आर्थिक वर्ष मध्ये पछिल्ला दुई आर्थिक वर्षमा राजश्व संकलनमा निकै निरावट आएको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा त्यसपछिका दुई आर्थिक वर्षमा कर तिर्ने प्रयोजनका लागि दर्ता हुन आएका संस्थाको संख्या घटेको छ। आर्थिक वर्ष २०७७/७८ मा अन्त शुल्कमा ३९९ व्यवसायीक प्रयोजनका संस्था दर्ता भएकामा आर्थिक वर्ष २०७८/७९ मा ३४४ र आर्थिक वर्ष २०७९/८० मा अन्तशुल्कम दर्ता हुने कम्पनीको संख्या ३०८ मा झरेको छ।

आयकरमा दर्ता हुन आएका व्यवसायीक संस्थाको संख्या आर्थिक वर्ष २०७७/७८ मा चार हजार ४६१ रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा ३ हजार ९६९ र गत आर्थिक वर्षमा संख्या घटेर तीन हजार ७ व्यवसायीक संस्था मात्रै आयकरमा दर्ता हुन आएका छन्।
आर्थिक वर्ष २०७७/७८ मा १० हजार ६२५, आर्थिक वर्ष २०७८/७९ मा १० हजार ५१६ र आर्थिक वर्ष २०७९/८० मा भने मूल्य अभिवृद्धि करमा दर्ता हुने संस्थाको संख्या बढेर ११ हजार ४१४ पुगेको छ।

कर तिर्ने प्रयोजनका लागि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी १६ हजार ३३१ संस्था अन्तरिक राजश्व कार्यालयमा दर्ता भएका छन्। त्यसपछि भने आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका संस्थाको संख्या १५ हजार ७२२ र गत आर्थिक वर्षमा अझै घटेर १५ हजार ४२५ पुगेको छ। आर्थिक मन्दीको कारण आन्तरिक राजश्व कार्यालयमा कम्पनी दर्ताको संख्या मात्रै घटेको छैन रजश्व संकलन पनि घटेको छ।

आर्थिक वर्ष २०७७/७८ मा पाँच अर्ब ६ करोड ७ लाख ३४ हजार राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालय धनगढीको त्यसपछिका दुई आर्थिक वर्षमा भने राजश्व संकलन घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ९६ करोड ५५ लाख ३९ हजार राजश्व उठेकोमा गत आर्थिक वर्षमा घटेर २ अर्ब ५७ करोड २९ लाख २१ हजारमा झरेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस