सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने
काठमाडौंः सुर्तीजन्य वस्तु (सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) अब प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ।
सरकारले अन्तःशुल्क नियमावलीमा २४ औं संशोधनमार्फत यस्तो नियम ल्याएको हो। आन्तरिक राजस्व विभागका अनुसार यो नियम १ वैशाख २०८१ देखि लागु हुनेछ। सो अवधिसम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने जनाएको छ। नियमावलीमा संशोधन गर्दै भनिएको छ, ‘सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानल १ वैशाख २०८१ देखि प्लास्टिक बाहेकका जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा मात्र प्याकिङ गर्नुपर्नेछ।’
सरकारको नियमअनुसार अब आयातकर्ताले समेत नेपाल भित्र प्लास्टिकका खोलमा यस्ता वस्तु बिक्री गर्न नपाउने भएका छन्। आन्तरिक राजस्व विभागले तोकिएको अवधिभित्रै सो प्रावधान लागु गर्ने गरी तयारीमा जुट्न सुर्ती उत्पादकहरुलाई सचेत गराएको छ।
सार्वजनिक स्थलमा सेवनमा लगाइएको रोक भने कार्यान्वयनमा छैन। सरकारले सुर्तीजन्य पदार्थलाई सार्वजनिक स्थलमा सेवन गर्न रोक लगाएको छ। साथै, अन्तःशुल्क स्टिकरको सुरक्षाका लागि अब पारदर्शी प्लास्टिकको खोल प्रयोग गर्नुपर्ने भएको छ। यो नियम भने १ असोजदेखि कार्यान्वयनमा आउने आन्तरिक राजस्व विभागले जनाएको छ।