सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक विकास मन्त्री साउँदद्वारा पुस्तक विमोचन

२०८० साउन २५, ०६:३२ खबर संवाददाता

धनगढी: सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले "रोग अनुसारको योग र पूर्वकर्म तथा पंचकर्म सम्बन्धी हाते पुस्तिका" विमोचन गरेका छन्।

बिहीवार प्रादेशिक आयुर्वेद चिकित्सालयमा मन्त्री साउँदले पुस्तक विमोचन गरेका हुन्। चिकित्सालयले तयार गरेको हाते पुस्तिकामा योग र आयुर्वेद उपचारको विधि र पद्धति बारे सामग्री राखिएको छ। चिकित्सालयले तयार गरेको हाते पुस्तिकाले योग र आयुर्वेदिक उपचार बारे सर्वसाधारणलाई जानकारी दिने अपेक्षा गरिएको छ। पुस्तकहरू योगको प्रचारप्रसार गर्न र आयुर्वेद उपचारबारे जानकारी र सूचना दिन उपयोगी हुने मन्त्री साउँदले बताए।

कार्यक्रममा बोल्दै मन्त्री साउँदले आयुर्वेद उपचारलाई विस्तार गर्न चिकित्सालयलाई मन्त्रालयको तर्फबाट आवश्यक सहयोग र मार्गदर्शन भइरहने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकाल, चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो।चिकित्सालयका निमित्त प्रमुख सुर्य उपाध्यायले चिकित्सालयबाट गत वर्ष २९ हजार ७४७ जनाको उपचार सेवा लिएको बताए।

चिकित्सालयबाट २३ प्रकारको औषधी नि:शुल्क प्रदान गरिँदै आएको छ भने निकट भविष्यमै थप सेवा विस्तार गर्ने योजना छ। राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर संस्थालाई अगाडि बढाउनु पर्ने र संस्थालाई सबल बनाउँदै नागरिकको उपचार प्रभावकारी बनाउन मन्त्रालय सकारात्मक रहेको मन्त्री साउँदले बताएका छन्।

कमेन्ट लोड गर्नुस