सुदूरपश्चिम सरकारसँग छैन विपत् प्रतिकार्य योजना
धनगढीः सुदूरपश्चिमका नागरिक पहिरो, बाढी र डुबानको चपेटामा छन्। कैलाली, कञ्चनपुरमा बाढीले पीडा दिएको छ भने पहाडी जिल्लामा पहिरोले समस्या गरेको छ। पहिरोका कारण सात पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ। तर, सुदूरपश्चिम सरकारसँग विपद् प्रतिकार्य योजना छैन। बाढी, पहिरो तथा डुबानले प्रदेशका नागरिक पीडामा रहेका बेला पनि प्रदेश सरकारले प्रदेश विपत् प्रतिकार्य योजना तयार नगरेको हो।
मनसुन सिजनमा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण तथा खोज, उद्धारलाई प्रभावकारी बनाउन हरेक वर्ष मनसुनअगावै वा मनसुन लाग्नेबित्तिक्कै विपत् प्रतिकार्य योजना बनाउन आवश्यक हुन्छ। स्थानीय तहहरुले पनि विपत् प्रतिकार्य योजना तयार गरेका हुन्छन। बाढी, पहिरोजस्ता कारणले धनजनको क्षति भइरहेका बेला सुदूरपश्चिम सरकार भने विपत् प्रतिकार्य योजनाविहीन छ ।
विपत् प्रतिकार्य योजनाको ड्राफ्ट तयार पारिएको छ। तर, त्यसलाई स्वीकृत भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले बताए। विपत् प्रतिकार्य योजना धेरै पहिले तयार पारिएको हो। स्वीकृतका लागि समय लागेकाले कार्यान्वयन भएको छैन।
प्रदेशमा प्राकृतिक विपत् व्यवस्थापनको जिम्मा आन्तरिक मामिला तथा कानून मन्त्रालयको हो। प्रदेशको विभिन्न जिल्लाका नागरिक बाढी, पहिरोजस्ता विपत्बाट आक्रान्त छ। विपत् प्रतिकार्य योजना नबनेकाले यस वर्ष प्राकृतिक प्रकोपबाट प्रदेशमा के कति मानिस प्रभावित हुनसक्ने भन्ने यकिन छैन।
प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार २०७९ वैशाखदेखि २०८० असार मसान्तसम्म बाढी, पहिरो, चट्याङलगायतका विपत्मा परेर ८५ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ३४ पुरुष र ५१ जना महिला रहेका छन्। त्यस्ता घटनामा परेर १०२ पुरुष र ११६ महिला गरी २१८ जना घाइते भएको जनाइएको छ।
पहिरोमा परेर २८, चट्याङ लागेर १४ जनाले ज्यान गुमाएका छन्। हिमपहिरोमा परेर नौ, बाढीमा आठ, भूकम्पमा सात जनाले ज्यान गुमाएका छन्। त्यस्तै, आगलागीमा छ, जनावर आतङ्कमा छ, सर्पदंशबाट चार जनाले ज्यान गुमाएका छन्। हावाहुरी, भारी वर्षा र अन्य कारणले एक–एक जनाले ज्यान गुमाएका छन।