सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मुख्य सडकमा खाल्डैखाल्डा, शरिर दुखेको भन्दै चालक हैरान 

२०८० साउन २४, ०७:२४ कमल सावद

धनगढीः मिना विक धनगढीमा अटो (विद्युतीय रिक्सा) चलाउछन्। उनले दैनिक धनगढीको मुख्य सडकमा ओहोर–दोहोर गर्नुपर्ने हुन्छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ९ की मिनालाई मुख्य सडकका खाल्डाले सताएको छ। उनले भनिन्, ‘धेरै गाह्रो छ। बाटो यस्तो छ। दिनभरी पाँच सय कमाउन सकिदैन। खाल्डाका कारण शरिर दुख्छ। यो बाटोमा हिड्नै सक्ने अवस्था छैन। गाडी पल्टिने डर छ।’

धनगढीको ट्राफिक चौराहदेखि कैलालीपुलसम्मको मुख्य सडकसहितका सातवटा सडक कालोपत्रका लागि २०७७ असारमा सम्झौता भएको थियो। सातवटा सडकको १० किलोमिटर क्षेत्रीय सहरी विकासमार्फत कालोपत्रका लागि सम्झौता भएकोमा एक दशमलव ३८ किलोमिटरको मुख्य सडकसमेत समावेस गरिएको छ। दुई वर्षमा ६८ करोड पाँच लाख ९८ हजार लागतका सातवटा सडक निर्माणको काम पूरा गर्न सम्झौता भएकोमा मुख्य सडकको काम अझै पूरा भएको छैन्। बर्खाको समय भएकाले अहिले सडकमा खाल्डै खाल्डा छन्। प्रदेश प्रहरी कार्यालय नजिक, धनगढी बसपार्क, पुरानो भन्सार रोड क्षेत्र तथा चौराहा क्षेत्रमा खाल्डै खाल्डा परेका हुन्। सम्झौताको अवधिमा काम पूरा नगरेको कालिका कन्स्ट्रक्सनले सडक मर्मतको कामसमेत गरेको छैन। मिनाले भनिन्, ‘यो बाटोले दुःख दिएको छ। दिनको पाँच सय पनि कमाउन समस्या छ। हामी दुखीलाई झन बाटोले दुःख दिएको छ।’ धनगढीको ट्राफिक चौराहदेखि कैलालीपुलसम्म संघीय सरकारले सडक कालोपत्रको ठेक्का सम्झौता गरेको हो।

कैलालीपुलदेखि क्याम्पस रोडसम्मको सडक सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्र गर्दैछ। गत वैशाखमा २४ महिनाभित्र दुई दशमलव तीन किलोमिटर सडक कालोपत्र सक्न सम्झौता भएको छ। कैलाली पुलदेखि हुलाकी राजमार्गसम्मको सडक कालोपत्रका लागि केएस कन्स्ट्रक्सनले ठेक्का पाएको छ। निर्माण कम्पनीले ५१ करोड ६९ लाखमा सडक कालोपत्र गर्न काम गर्दैछ। तर सो निर्माण कम्पनीले पनि सडकका खाल्डा पुरेको छैन। यसबाट सबैभन्दा बढी अटो रिक्साचालक पीडित छन्। विद्युतीय रिक्सा चालक उदिप चौधरीले मुख्य सडकका खाल्डा मर्मत गर्न आग्रह गरेका छन्। उनले भने, ‘धनगढीमा अटो चलाउछु। खाल्डोका कारण आपत छ। अटो उर्फिन्छ। खाल्डोका कारण दुर्घटना हुने जोखिम छ। यात्रुहरुले पनि गाली गर्ने गरेका छन्।’

प्रदेश सरकारमार्फत निर्माण थालिएको मुख्य सडकको कैलाली पुल नजिक, एलएन चोक, अस्पताल क्षेत्र, जिल्ला प्रशासन, जिल्ला हुलाक, पुरानो फूलवारी बसपार्क र हुलाकी राजमार्ग क्षेत्रको सडकमा खाल्डै खाल्डा छन्। खाल्डाका कारण यात्रु तथा सवारी चालकलाई हैरानी हुने गरेको छ। दिनभरी अटो चलाउदा बिरामीसमेत हुने गरेको गुनासो चालकहरुले गरेका हुन्। तर सरोकारवाला निकायले खाल्डा पुर्न बेवास्ता गरेका छन्। पूर्वाधार विकास कार्यालय कैलालीका निमित्त प्रमुख रामचन्द खत्रीले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको आग्रहमा एलएन चोक क्षेत्रको सडक मर्मत भएको बताए। उनले भने, ‘मेयर साप, हामीहरु बसेर सहयोग मागेका थियौ। उहाँहरुलाई नाली खोल्न र खाल्डामा ग्राभेल हाल्न लगाएका हौ। एलएन चौकमा हालेको पनि हो। धेरै ठाउँमा खाल्डा छन्। उहाँहरुले बनाउने हो। सेतोपुलतिर काम हुँदैछ। यो बर्खाले समस्या गरेर मात्र हो। पछि त समस्या हुने थिएन। हामीले सहयोग माग्ने हो।’

क्षेत्रीय सहरी विकासमार्फत निर्माण थालिएको सहीदगेट क्याम्पस गेट सडक र खुल्म चर्च सडकको कामसमेत पूरा भएको छैन। धनगढीका शाखा सडकको कामसमेत पूर्ण रुपमा पूरा नहुँदा नागरिकले अनावश्यक हैरानी खेप्नु परेको छ।
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस