सेतीमा भिडियो एक्सरे गराउन आपत, कहिले आउँछ बिरामीको पालो?

धनगढीः सेती सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल हो। प्रदेश सरकार मातहतको प्रादेशिक अस्पतालमा नौवटै जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन्। तर, सेती अस्पतालको भिडिओ एक्सरे सेवामा कोटा प्रणाली लागु गरिएको छ।
सेती अस्पतालले एक दिनमा ४० जनाको मात्र भिडिओ एक्सरे गर्ने भएकाले बिरामीहरुलाई सास्ती भइरहेको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का वीरबहादुर कुँवरले तीन दिनसम्म भिडिओ एक्सरे गर्न पालो नपाएको बताए। उनले भने, ‘भित्र चार सयमा भिडिओ एक्सरे गरिन्छ। बाहिर १२ सयसम्म पर्छ। भित्र हामीहरुले गर्न पाएका छैनौ। चिकित्सकहरुले नै बाहिर पठाउने गरेका छन्।’
सेती प्रादेशिक अस्पतालमा भिडिओ एक्सरे गर्ने पालो तीन दिनसम्म नआएको बिरामी राधा रानाले बताइन्। कञ्चनपुरको बेलौरीबाट बिहान ४ बजे नै भिडिओ एक्सरेका लागि पर्चा काट्न आउदा पनि पालो नपाएको गुनासो उनको छ। उनले भनिन्, ‘बिरामी भएको २२ दिन भयो। तीन दिनसम्म भिडिओ एक्सरे गर्न पाएन। चार बजे आउदा पनि प्याक भयो भन्छन।’
भिडिओ एक्सरेका लागि सेतीमा आउने बिरामी भोकै हुन्छन्। उनीहरुले पानी बाहेक केही खाँदैनन। तर तीन दिनसम्म भिडिओ एक्सरेका लागि पालो नपाएकाले मर्ने अवस्था आएको फूलवारीका एक बिरामीले बताइन। उनले भनिन्, ‘पेट दुख्ने समस्या छ। भोलि आउनु भन्छ। भोलि आउदा कोटा पूरा भयो भन्छ। दिन भरी भोकै बस्यो, तर पालो पाइदैन। तीन दिनसम्म भोकै बसेको छु। सम्पती भएको भए, बाहिर जाने थिए। घरमा पानी दिनेपनि मान्छे छैन।’
सेती अस्पतालका बिरामीहरुले भित्रबाट चिकित्सकले सिफारीस गरेको ठाउँबाट गरेको भिडिओ एक्सरेलाई मात्र मान्यता दिने भएकाले थप समस्या भएको बताएका छन्। उनीहरुले आफूले बाहिर गरेको भिडिओ एक्सरेलाई चिकित्सकले मान्यता नदिएकाले झन समस्या भएको बताएका छन्। धनगढीका माधव प्रसाद बडूले सेती अस्पतालको भिडिओ एक्सरे सेवाका लागि हैरान भएको बताए। ‘एक दिनमा ४० जनाको मात्र कोटा रहेछ। २० जना जति प्रसूती लगाएतका हुँदा रहेछन्। हामी गरिबले सेवा नपाउने भयौ। बिमा पनि गरेका छौ। अरु बसै प्रक्रिया पूरा गरेका छौ। तर, तीन दिनसम्म भिडिओ एक्सरे गर्न पाएका छैनौ,’ उनले भने।
सेती प्रादेशिक अस्पतालले भिडिओ एक्सरे गर्ने चिकित्सकको संख्या कम भएकाले समस्या भएको बताएको छ। सेती प्रादेशिक अस्पतालको मेसु डाक्टर हेमराज पाण्डेले एक जनाले मात्र भिडिओ एक्सरे गर्ने भएकाले सबै बिरामीले सेवा नपाएको बताए। उनले भने, ‘एक जना मात्र हुनुहुन्छ। कहीले आकस्मीक मात्र हुन्छ। ८ घण्टा भन्दा बढी काम लगाउन मिल्दैन।’ सेती अस्पतालको भिडिओ उक्सरे सेवा बन्द हुने अवस्थामा पुगेको हो। अस्पतालमा भिडिओ एक्सरेका लागि रेडियोलोजिस्ट एक जना मात्र छन्। उनले सिटी स्क्यान, अल्ट्रा साउण्ड गर्नुपर्ने बाध्यता रहेको हो।



