सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ ऐनअनुसार कैलालीका ३० महिलाको हातमा नागरिकता, पुरुष कति?

२०८० साउन २३, ०३:४५ खबर संवाददाता

धनगढीः नयाँ नागरिकता ऐनअनुसार कैलालीबाट ३० महिलाले नागरिकता प्राप्त गरेका छन्। नयाँ नागरिकता ऐनअनुसार कैलालीबाट मंगलबारसम्म कुल ८९ नयाँ नागरिकता वितरण भएका छन्। राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक लागू गर्न मिल्ने गरी असार ७ गते सर्वोच्च अदालतले बाटो खुला गरेपछि नयाँ कानुनअनुसार नागरिकता वितरण सुरु भएको हो।

नयाँ ऐन लागू भएपछि कैलालीबाट ८९ जनाले नेपाली नागरिकता लिएका हुन्। नयाँ कानुनअनुसार विशेष गरी जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तान र बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता वितरण सुरु गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार नयाँ नागरिकता ऐनअनुसार कैलालीको सुखडबाट दुई महिला, टीकापुरबाट ८ महिला र २७ पूरुषले नागरिकता लिएका छन्। त्यस्तै धनगढीबाट २० महिला र ३२ जना पुरुषले नयाँ ऐनअनुसार नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए। विधेयक राजपत्रमा प्रकाशित भएलगत्तै नागरिकता वितरण सुरु भएको थियो। नेपालको संविधान २०७२ मा जन्मसिद्ध नेपाली नागरिकका सन्तान, बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानले वंशजका आधारमा नगरिकता लिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि बाबुको पहिचान नखुलेको आमाबाट जन्मेका सन्तानले नागरिकता प्राप्त गर्न सकेका थिएनन्। नयाँ नागरिकता ऐनले गैरआवासीय नागरिकलाई पनि नेपाली नागरिकता लिने सक्ने बाटो खुला गरिदिएको छ।

कमेन्ट लोड गर्नुस