दिनेश फाउन्डेसनले गर्यो पत्रकार उपाध्यायलाई ५१ हजारसहित सम्मान
धनगढी: दिनेश फाउन्डेसनले पत्रकार दिपक उपाध्यायलाई सम्मान गरेको छ। फाउन्डेसनले आयोजना गरेको ११ औं वृहत् रक्तदान कार्यक्रममा १०२ पटक रक्तदान गरेका उपाध्यायलाई सम्मान गरिएको हो।
मङ्गलवार गरिएको रक्तदान कार्यक्रममा फाउन्डेसनका अध्यक्ष श्याम हमालले पत्रकार उपाध्यायलाई नगद ५१ हजार सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन्। सुदूरपश्चिममा उपाध्यायले हालसम्म सर्वाधिक १०२ पटक रक्तदान गरेका छन्। रक्तदानबाट धेरैले जीवन दान प्राप्त गर्ने भएकाले दिनेश फाउन्डेसनले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको दिनेश फाउन्डेसनका अध्यक्ष हमालले बताए।
उनले फाउन्डेसनले हरेक वर्ष एक सय पिन्टभन्दा बढी रगत नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्दै आएको बताए। यो वर्ष ११ औं पटकको रक्तदानबाट दुई सय पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष हमालले बताएका छन्।
'यो समयमा बिरामीलाई रगतको आवश्यकता बढी हुने भएकाले हरेक वर्ष दिनेश फाउन्डेसनले साउनमा रक्तदान गर्दै आएको छ,' उनले भने, 'पत्रकार उपाध्याय रक्तदान गर्न चाहने व्यक्तिका लागि प्रेरणाको स्रोत भएकाले अन्य रक्तदान गर्न चाहने व्यक्तिलाई समेत हौसला पुगोस् भनेर सम्मान गरिएको हो।' दिनेश फमउन्डेसनले हरेक वर्ष साउनमा रक्तदान गर्दै आएको छ भने विभिन्न समयमा अन्य सामाजिक कार्य पनि गर्दै आएको छ।

