आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौंः संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ। अवरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा बैठक आजसम्मका लागि स्थगित भएको हो।
सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका शीर्ष नेताहरुका बीचमा दिनभर भएको छलफलमा सहमति हुन नसकेपछि प्रतिनिधिसभाको बैठक पनि सूचना टाँसेर स्थगित भएको हो। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।
अवरोध हटाउन आज पनि शीर्ष नेताबीच बालुवाटारमा छलफल हुनेछ। बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुनेछ।
सोमवार सभामुख घिमिरेले आफ्नै कार्यकक्ष सिंहदरबारमा गरेको छलफलमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनका विषयमा दलहरु आ–आफ्ना अडानबाट पछि नहट्दा सहमति जुट्न सकेको थिएन।
दलहरुबीच भएको छलफलमा प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान दोहो¥याएको थियो। तर सत्तापक्षका नेताहरु राज्यकै संयन्त्रले छानबिन गरिरहेकाले अर्को समिति आवश्यक नरहेको बताएका थिए।
मंगलवार सहमति जुटाउने गरी दलहरु आन्तरिक छलफलमा छन्। यस्तै सोमवार बसेको राष्ट्रियसभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि साउन २४ गतेसम्मका लागि स्थगित गरिएको छ।