सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालका अध्यक्षले प्रावधान विपरीत पेस्की लिएको खुलासा

२०८० साउन २२, ०८:४८ खबर संवाददाता

डडेल्धुराः  डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले स्वास्थ्य शिविर सञ्चालन गर्न आफ्नो नाममा पेस्की लिएको खुलासा भएको छ।

अध्यक्षले प्रावधान विपरीत प्रोटोकल मिचेर पेस्की लिएको खुलासा भएको हो। गत आर्थिक वर्ष २०७९ को साउन महिनामा डडेल्धुरा अस्पतालले सुष्मा कोइराला मेमोरियल अस्पताल काठामाडौंको प्राविधिक सहयोग, रुडुक डडेल्धुराको समन्वय तथा डडेल्धुरा अस्पतालको आयोजनामा शिविर सञ्चालन गरेको थियो। सो शिविर सञ्चालनका लागि अध्यक्ष ओझाले आफ्नो नाममा २१ लाख ८६ हजार रूपैयाँ पेस्की लिएको पाइएको हो।

सो विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले समेत चासो राखेको छ। साउन १५ गते अख्तियारले अस्पताललाई पत्र पठाउँदै शिविर सञ्चालनका लागि अध्यक्षले पेस्की लिएको सम्बन्धमा लागत अनुमान स्विकृत कार्यक्रम, प्रतिवेदन, बिल भौचर लगाएतका कागजात पन्ध्र दिन भित्र पठाउन समेत ताकेता गरेको छ।

अस्पतालका अध्यक्ष ओझाले स्वास्थ्य शिविर सञ्चालन गर्न आफ्नो नाममा पेस्की लिएको कुरा स्विकार गरेका छन्। स्विकृत भएको रकम गत आर्थिक वर्ष २०७९ को असारमा कार्यालयमा आएको र शिविरको लागि समय नभएकोले बजेट फ्रिज जानबाट रोक्न आफ्नो नाममा पेस्की लिएको उनको भनाई छ। कार्यालयमा रहेका कर्मचारीले पनि के के कार्यक्रम गर्ने भनेर पेस्की लिइसकेको अवस्था थियो,’ उनले भने, ‘त्यस्तो अवस्थामा उहाँहरूले पेस्की लिन गाह्रो हुने भयो। हामीले छलफल गरेर मैले आफैले रिस्क मोलेर पेस्की लिएको हुँ।’ शिविर सञ्चालनमा एक रुपैया पनि तलमाथि नभएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस