बैतडीमा ढुंगा लागेर एक जनाको मृत्यु, एक जना घाइते
धनगढीः बैतडीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका ४ रक्सौनका ९ वर्षीय रेशम विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो।
देउलेक–कान्धार सडक अन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर विकको मृत्यु भएको छ। सडक तलतिर बालबालिकाहरु खेलीरहेको अवस्थामा कच्ची सडकमाथिबाट एक्कासी ढुंगा खसेको थियो। शुक्रवार दिउँसो बालबालिकाहरु खेलीरहेको अवस्थामा खसेको ढुंगा लागेर रेशमको घटनास्थलमै मृत्यु भएको हो।
जनाधार आधारभूत विद्यालयमा कक्षा १ मा पढ्ने रेशम कलिलै उमेरमा अस्ताएपछि अहिले परिवार शोकमा छ । घरमा उनकी आमा मात्रै रहेको बताइएको छ। रेशमका बुवा दिपक लुहार रोजगारीको सिलसिलामा भारतमा रहेका छन्।
यस्तै ढुंगा लागेर सिगास गाउँपालिका ३ गजेडाका ७ वर्षीय अनिल चुनारा घाइते भएका छन्। उनको धनगढीमा उपचार भइरहेको छ। मामा घर आएका चुनारापनि बालबालिकाहरुसंगै खेल्न गएका थिए।
सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु र एक बालक घाइते भएपछि अहिले गाउँ शोकमग्न भएको छ। मृतक रेशमकी आमा विक्षप्त भएकी छन्। एकमात्रै छोराको ढुंगा लागेर मृत्यु भएपछि उनी होसमा आउन सकेकी छैनन्।