सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिना जाँच रासायनिक मलको प्रयोग गर्दा माटोको गुणस्तर घट्दै

२०८० साउन १८, ०४:०७ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरका किसानले प्रयोगशालामा जाँचका लागि ल्याएका माटोका नमुनामा प्रांगारिक पदार्थसँगै अम्लीयपन, नाइट्रोजन, फास्फोरस र पोटासको कमी देखिएको छ।

माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरका निमित्त कार्यालय प्रमुख दलबहादुर खड्काले किसानले ल्याएका अधिकांश नमुनामा प्रांगारिक पदार्थको मात्रा दुई दशमलव पाँचदेखि तीनसम्म पिएच देखिएको बताए। उनका अनुसार माटोमा प्रांगारिक पदार्थको पिएच पाँचभन्दा बढी देखिए उपयुक्त मानिन्छ। नमुना माटोमा अम्लीयपना ६.५, नाइट्रोजन शुन्य दशमलव ११ देखि शुन्य दशमलव १२, फास्फोरस ३२ र पोटासको पिचएमान १११ देखिएको छ। माटोको गुणस्तर कायम राख्नका लागि किसानले घरमै तयार गरिएको गोठेमल, कम्पोष्ट र हरियो मलको प्रयोगमा जोड दिनुपर्ने प्रमुख खड्काको सुझाव छ।

‘माटोमा अम्लीयपन देखिएका किसानले कृषि प्राविधिकको सल्लाहअनुसार कृषि चुनको प्रयोग गर्नुपर्छ’, उनले भने, ‘रासायनियक मलको अन्धाधुन्ध प्रयोगले माटोको गुणस्तर बिग्रीएको छ, त्यसले माटोमा कडापना ल्याउँदा कृषि उत्पादकत्वमा असर गरेको हो।’ कृषि प्राविधिकको सल्लाहबिना प्रयोग गरिने रासायनिक मल र विषादीले ‘मित्र जीव’ नासिँदै जाने भएकाले रोग तथा किराको नयाँ प्रकोप देखा पर्ने खड्काले उल्लेख गरे। उनका अनुसार प्रयोगशालासँगै कृषि ज्ञान केन्द्र र पालिकाले संयुक्त रुपमा घुम्ती शिविरमार्फत माटो परीक्षण गर्दै आएका छन्। किसानले शिविरमा माटो संकलन गरी जाँच गराउनुपर्नेमा खड्काले जोड दिए। ‘जाँच पश्चात् माटोको पिचएमान थाहा हुन्छ’, उनले भने, ‘यसबाट माटोको सुधारका लागि पहल गर्न सकिन्छ।’ उनले सबै किसानलाई माटो जाँच गराउन आग्रह पनि गरे।

हालै शुक्लाफाँटा नगरपालिकामा आयोजना गरिएको माटो परीक्षण घुम्ती शिविरमा ९२ माटोका नमुनामा प्रांगारिक पदार्थ सँगै नाइट्रोजन, फास्फोरसको मात्रामा कमी देखिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करन सिंह बुढाऐरले बताए। उनका अनुसार माटोमा क्षारियपन र अम्लीयपनको मात्रा अधिक देखिएको छ। वडा नं १२ को माटोमा सबैभन्दा बढी कृषि उत्पादनका लागि आवश्यक तत्त्वहरूको कमी रहेको बुढाऐरले बताए । अन्य वडाका नमुनामा प्रांगारिक पदार्थको निकै कमी देखिएको उनले बताए। ‘वन क्षेत्रबाट ल्याउने सोत्तर, घाँसपातको प्रयोग घरमै किसानले मल बनाउने गरेका थिए’, उनले भने, ‘अहिले किसानले घरमा गोठेमल, कम्पोष्टमल बनाउन छाडेका छन्।’ गोठे, कम्पोष्ट र हरियो मलको प्रयोगलाई बढावा दिनका लागि स्थानीय तहले किसानमाझ जनचेतासँगै अनुदानलगायत उत्प्रेरित गर्ने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने कृषि विज्ञ बताउँछन्।

प्रांगारिक मलको प्रयोगले माटोको गुणस्तरमा सुधार ल्याई बाली–बिरुवालाई आवश्यक पर्ने सुक्ष्म तत्व उपलब्ध गराउने, माटोको पानी सोस्ने क्षमतामा वृद्धि हुने, उर्वराशक्ति बढाउने, वातावरण स्वच्छ राख्न मद्दत पु¥याउने तथा रासायनिक मलको खपत घटाउने कृषि शाखा प्रमुख बुढाऐरले बताए।
 

कमेन्ट लोड गर्नुस