धनगढी पुगेर गर्जिए ज्ञानेन्द्र– भन्छन आफ्नै नेता फस्ने डरले सरकार छानबिन समिति गठनमा मौन
धनगढीः धनगढी पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सत्तारुढ दलकै नेता सुनकाण्डमा फस्ने भएपछि सरकारले उच्च स्तरिय छानबिन समिति बनाउन नचाहेको आरोप लगाएका छन्।
बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहीले सत्ता गठबन्धनकै नेताहरुको नाम सुनकाण्डमा जोडिएका कारण उच्च स्तरिय छानबिन समिति गठन गर्न सरकार अनिच्छुक रहेको बताएका हुन्। शाहीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादूर महरा लगायतका नेताहरु सुनकाण्डमा जोडिएका कारण सरकार उच्च स्तरिय छानबिन गर्न नचाहिरहेको बताए।
प्रहरीको अनुसन्धान सुन तस्करी भन्दापनि भरिया सम्म मात्रै पुगेको बताउँदै शाहीले उच्च स्तरिय छानबिन नभए ठुला तस्कर पक्राउ नपर्ने दावी गरे। राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले लगायतका प्रतिपक्षी दलले ठुला तस्करसम्म अनुसन्धान गर्न उच्च स्तरिय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेको बताउँदै शाहीले समिति गठन नहुँदासम्म संसद चल्न नदिइने दावी गरे। पार्टीको सुदूरपश्चिम सह संयोजक समेत रहेका शाहीले अबको ६ महिनाभित्र सुदूरपश्चिममा पाटीले निकै गती लिने बताए।