सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारलाई विहिबार पूर्णता दिने सहमति

२०८० साउन १६, ११:११ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले विहिबार मात्र पूर्णता पाउने गरी सहमति भएको छ।

आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेस पार्टी उपसभापति पुर्णबहादुर खड्का, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, पार्टी संरक्षक रेशम चौधरी, नेकपा माओवादी प्रदेश संसदीय दलका नेता खगराज भट्ट र सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी सहभागी बैठकले यस्तो सहमति गरेको हो।

प्रदेशसभा निर्वाचन भएको आठ महिना बित्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले लय समात्न सकेका छैन। सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँट अधुरै छ। कांग्रेस–माओवादी गठबन्धन नबन्दासम्म सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा थियो। नागरिक उन्मुक्तिको विश्वास पाउने आशासहित माघ २७ मा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

तर केन्द्रमा एमालेसहितको गठबन्धन भत्केर कांग्रेस सम्मिलित नयाँ गठबन्धन बनेपछि नागरिक उन्मुक्ति पार्टीको निर्णायक हैसियत ओझेलमा प¥यो। माओवादीको समर्थन नहुँदासम्म नागरिक उन्मुक्ति पार्टीलाई मागेजति मन्त्रालय दिन तयार मुख्यमन्त्री शाहले जेठ ६ मा मन्त्रिपरिषद् पुनर्गठन गर्दा एउटा मात्र मन्त्रालय दिए। 

तर अहिले आएर नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान सहमत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा सोमबार र मंगलबार गरी दुई पटक बालुवाटारमा बसेको मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीबीचको छलफलपछि सो पार्टी सरकार जान सहमत भएको हो। दुईवटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको छ।

बिहीबार सरकारले पूर्णता पाउँछ। यहाँ ४ वटा संसदीय समिति रहेको छ। उपसभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी रहेकी छिन्। सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी छन्। त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले यसअघि पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको हो। साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो।

तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्रपछि रोकिएको थियो। यहाँ नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन्। २ जना सांसदलाई यसअघि नै संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी दिइसकेको छ। जसअनुसार बाँकी सांसदलाई जिम्मेवारी दिने तयारी गरिएको बताइएको छ। असार ५ मा सडक दुर्घटनामा परी आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त मन्त्रालय पनि रिक्त छ।

कमेन्ट लोड गर्नुस