सुदूरपश्चिम सरकारले आज पूर्णता पाउँला? यसो भन्छन मुख्यमन्त्री शाह
धनगढीः प्रदेशसभा निर्वाचन भएको आठ महिना बित्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले लय समात्न सकेका छैन। सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँट अधुरै छ। कांग्रेस–माओवादी गठबन्धन नबन्दासम्म सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा थियो। नागरिक उन्मुक्तिको विश्वास पाउने आशासहित माघ २७ मा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए।
तर केन्द्रमा एमालेसहितको गठबन्धन भत्केर कांग्रेस सम्मिलित नयाँ गठबन्धन बनेपछि नागरिक उन्मुक्ति पार्टीको निर्णायक हैसियत ओझेलमा प¥यो। माओवादीको समर्थन नहुँदासम्म नागरिक उन्मुक्ति पार्टीलाई मागेजति मन्त्रालय दिन तयार मुख्यमन्त्री शाहले जेठ ६ मा मन्त्रिपरिषद् पुनर्गठन गर्दा एउटा मात्र मन्त्रालय दिए।
नागरिक उन्मुक्तिका सांसद रामेश्वर चौधरीले सरकार गठनकै बेला दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति कार्यान्वयन नभएको बताए। ‘एकमात्र मन्त्री दिन खोजेपछि हामी सरकारमा गएका छैनौं,’ उनले भने। असार ५ मा सडक दुर्घटनामा परी आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त मन्त्रालय पनि रिक्त छ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज (मंगलबार) सत्ता गठबन्धनको बैठक बोलाएर सरकारलाई पूर्णता दिने बताएका छन्। काठमाडौँमा रहेका मुख्यमन्त्री शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार भेटवार्तापछि लामो समयसम्म पूर्णता नपाएको सरकारलाई पूर्णता दिने बताएका हुन्।
प्रधानमन्त्रीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहसँग उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलगायत रहेका थिए। नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउनुपर्ने अडान राखेको छ। सो अडान पूरा नहुँदा हालसम्म सरकारमा जान मानेको छैन।