सुन प्रकरणमा दोषी ठहरिए कारबाही भोग्न तयार छुँः वर्षमान पुन
काठमाडौँः नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताएका छन्।
सोमबार संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन्। अनाहकमा आफूलाई जोडेको भन्दै उनले व्यक्तिगत चरित्र हत्या गर्ने भन्दा पनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्ने जिकिर गरे।
पुनले भने, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको भ्रष्टाचार र सुन तस्करीविरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान हो। यसमा मेरो पूरै समर्थन छ। मेरो कहीँ कतै संलग्नता छैन। म कतै जोडिएको छैन। गत आठ वर्ष पहिले पारिवारिक खालको फोटोलाई राखेर हो जस्तो पारिएको छ।’
राज्यका निकायहरूले पूर्वाग्रही गर्न नहुने र राज्यले न्यायोचित ढंगले छानबिन गर्नुपर्ने पुनको भनाई छ। मेरोबारेमा पनि ठोस रूपले त उठेको छैन। कुन निकायले छानबिन गर्नुपर्ने हो म माथि छानबिन गरोस्, म त्यो छानबिनका लागि तयार छु,’ उनले भने, ‘र, म दोषी ठहरिए के सजाय भोग्नुपर्ने हो त्यसको लागि तयार छु। राजनीतिक, व्यक्तिगत चरित्र हत्या गर्ने भन्दा पनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्छ।