उत्तर कोरियाको दूतावासमा छापा मार्ने एक जना पक्राउ

स्पेनको राजधानी मड्रिडस्थित उत्तर कोरियाको दूतावासमा भएको छापामा संलग्न रहेको आरोपमा अमेरिकी अधिकारीले एकजनालाई पक्राउ गरेका छन्। अमेरिकी नेभीका पूर्वसदस्य क्रिष्टोफर एनलाई पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।
मड्रिडमा रहेको उत्तर कोरियाको दूतावासमा छापा मार्ने समूहमा उनी पनि संलग्न रहेको आरोप छ। क्रिष्टोफरलाई लस एन्जलसमा रहेको अदालत उपस्थित गराउने तयारी भइरहेको छ। गत फेब्रुअरीमा मड्रिडमा रहेको उत्तर कोरियाली दूतावासमा एक समूहले छापा मारेको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच हानोइमा भएको वार्ता असफल भएको केही दिनपछि नै कोरियाली दूतावासमा छापा मारिएको थियो। उत्तर कोरियाले घटनाको छानबिन हुनुपर्ने बताएको थियो।
यसमा उसले अमेरिकी संघीय अनुसन्धान ब्यूरोको संलग्नता रहेको हुन सक्ने जनाएको छ। घटनाका सम्बन्धमा पक्राउ पर्ने क्रिष्टोफर पहिलो व्यक्ति हुन्। आफूलाई मानवअधिकारवादी समूह बताउने फ्री जोसेअनले छापा मार्ने काम आफूले गरेको दाबी गरेको थियो।
मड्रिडमा रहेको उत्तर कोरियाको दूतावासमा छापा मार्ने समूहले त्यहाँबाट कम्प्युटर तथा हार्ड ड्राइभ लगेको थियो।
