सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा डेंगुको रोकथामको लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

२०८० साउन ११, ०४:३५ खबर संवाददाता

धनगढीः  कैलालीको एक पालिकाले डेंगुको संक्रमण फैलन नदिन ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ।

जिल्लाको गोदावरी नगरपालीकाले डेंगु रोगबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ। गोदावरी नगरपालीका–८ मा रहेको स्याउले सहरी स्वास्थ्य केन्द्र मजगाँउले स्वास्थ्य शाखाको समुन्वयमा डेंगु रोगबाट बच्न लार्भा खोज र नष्ट गर अभियान बिहिबारबाट सुरु गरेको हो। अभियानको उद्घाटन कार्यक्रममा बोल्दै नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले गोदावरी नगरपालीकामा ६ जनामा डेंगु रोगको संक्रमण देखिएको बताए। पछील्लो समय डेंगु रोग देशभरमै महामारीकै रुपमा फैलीने संकेत देखिएकोले गोदावरी नगरपालीकाले उक्त अभियानको सुरुवात गरेको बताए।

डेंगु रोग लामखुट्टेका कारण लाग्ने भएकाले लामखुट्टे बस्ने स्थानहरु खुल्ला भाँडामा जम्मा भएको सफा पानी, गमलामा भएको सफा पानी आदी भएकोले खुल्ला भाँडामा पानी राख्न नहुने भन्दै उनले सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुले प्रत्येक शुक्रबार कार्यालय खोल्ने समयमा दश मिनेट वरीपरी त्यस्ता भाँडाहरुमा भएको पानी घोप्ट्याएर लार्भाको वृद्धी विकास रोक्नुपर्ने बताए। त्यसैगरी घरमा पनी गमला जस्ता खुल्ला भाँडामा भएको पानी हरेक दिन घोप्ट्याउनु पर्ने उनले बताए।

“लार्भाको वृद्धि विकास रोकेर सबैले आ– आफ्नो क्षेत्रबाट डेंगु नियन्त्रणमा प्रयास गर्नुपर्ने हुन्छ अवस्थीले भने बजार क्षेत्रका होटलहरुले बोतलहरु राख्दा , ग्यारीजमा टायर राख्दा पानी नजम्ने हिसाबले राख्नुपर्ने हुन्छ।” नगरपालीकाले लार्भा नष्ट गर्नकालागि विषादी छर्किने काम गरीरहेको अवस्थीले बताए। डेंगु रोग लाग्दा ज्वरो आउने, आँखा रातो हुने, टाउको, पेट, जोर्नी, मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्दछ। साथै असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्न सक्छ।

डेंगु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ। डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। यो रोगबाट बच्न मुख्यतया लामखुट्टेको टोकाइबाट बच्नु हो। यसका लागि लामखुट्टे बस्ने स्थान जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने तथा पुरा बाहुला भएको लुगा प्रयोग गर्ने गर्नुपर्छ। 
 

कमेन्ट लोड गर्नुस