सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका बीर्खबहादुरले विमान कुर्दाकुर्दै प्राण त्यागे

फाइल फोटो
फाइल फोटो
२०८० साउन ११, १२:३० खबर संवाददाता

धनगढीः बाजुराका एक जनाको विमान कुर्दाकुर्दै ज्यान गएको छ। जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उच्च रक्तचापका बिरामी बीर्खबहादुर कार्कीको मृत्यु भएको हो। मुगु खत्याड गाउँपालिकाका वडा नम्बर ११ का ६० वर्षीया कार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्की लामो समयदेखि उच्च रक्तचापको बिरामी थिए। गत मंगलवार उनलाई नेपालगञ्ज रिफर गरिएको थियो। तर सडक बन्द भएकाले उनका आफन्तले विमानमा लैजाने योजना बनाएका थिए। तर उनले विमान कुर्दाकुर्दै राति १२ः३० बजे प्राण त्यागेका छन्। 

कार्कीलाई ६ दिनदेखि खत्याड गाउँपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि उनका आफन्तले गत मंगलवार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो। उच्च रक्तचापका बिरामी कार्कीलाई लामो समय टाउको दुख्ने, चक्कर लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएकाले टाउकोमा रगत जमेको हुन सक्ने शङ्काले सिटीस्क्यानका लागि नेपालगञ्ज रिफर गरिएको थियो। मौसम खराबीका कारण विमान पनि आउन नसक्दा मध्यराति उनको ज्यान गएको हो। 

बिरामी हुँदा समयमै सुविधा सम्पन्न अस्पतालमा लान सक्दा जेठदेखि साउनसम्म बाजुराका ६ जनाले ज्यान गुमाएका छन्। कार्कीजस्तै तीन जना प्रेसर अर्थात उच्च रक्तचाप र एक जना लडेर घाइते भएको र दुई जना आन्द्राको समस्या भएकाले ज्यान गुमाएका छन्। 

कोल्टीदेखि नेपालगञ्जसम्मको हवाइ उडान समय ३० देखि ३५ मिनेटको छ। समयमै विमान आइदिएको भए कार्कीलाई समयमै सुविधा सम्पन्न अस्पतालमा पुगाएपछि बचाउन सकिने आफन्तहरुले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस