पानी परेको रात जाग्राम बस्छन भजनीवासी
धनगढीः कैलालीको भजनीवासी पानी परेको रात सुत्न पाउँदैनन्। उनीहरु पानी परेको रातमा जाग्राम बस्छन। बर्खाको पानीले उनीहरुको भोक र निद्रा हराउने गरेको छ। आकाशमा कालो बादल मडारिँदा उनीहरु तर्सिन्छन्।
भजनी नगरपालिका–१ की रशिला चौधरीले पानी पर्न साथ चयनको निद्रा सुत्न नपाउने बताइन्। उनले भनिन्, ‘पानी पर्नसाथ नदीको बाढी गाउँ पस्ने त्रास सुरु हुन्छ।’ भजनीका स्थानीयलाई ज्यानसँगै घर, खेत जोगिन्छ कि जोगिन्न भन्ने पिरलोले पनि सताउँछ।
‘कुनै वर्ष साउन, भदौमै ठूलो बाढी आईदिन्छ त कुनै वर्ष असोज, कात्तिकमा। गत वर्ष भदौमा ठूलो बाढी आयो। रोपेको धान बगाएर लग्यो’उनले भनिन्। भजनीका नागरिकले बाढीको कारण हरेक वर्ष घर मर्मत गर्नुपर्छ। लिपपोत गरेको घर, बाढी आएर भत्काईदिन्छ। बाँकी काम ठाँती राखेर भए पनि पुनः घर बनाउनपर्ने उनीहरुको बाध्यता रहेको छ।
भजनीवासीले २०६४ सालयता डुबान र कटानको पीडा निरन्तर भोग्दै आएका छन्। भजनीकी शोभा चौधरीले भनिन्, ‘खेत नभएको पनि होइन। तर, बाढीले गर्दा खेतमा फलेको अन्न कहिल्यै भित्र्याउन पाउँदैनौं। गतवर्ष त एक गेडो पनि ल्याउन पाइएन।’
पछिल्लो समय बाढीले बर्खे धान नजोगिने भएपछि भजनी क्षेत्रका स्थानीयहरु विकल्पको रुपमा चैते धान रोप्न थालेका छन्। भजनी नगरपालिका–९ खुरह्रिया टोलका स्थानीय सीताराम चौधरीको गत वर्षको बाढीले घर र खेत पुरै डुबानमा पर्यो। भत्किन लागेको २ कोठे कच्ची घर थामथुम पारेर परिवारसहित ओट लाग्न बाध्य भएको सुनाउँछन् उनी।
घरसँगै रहेको १५ कठ्ठा धानखेत फुटबल मैदान जस्तै सफाचट भएको थियो। उनीसँगै छिमेकी अरु किसानको पनि लहलहाउँदो भई बाला पोसाउने बेला धानखेत बाढीले पूरै रित्तिएपछि भोकमरीको सामना गर्नु पर्याे।