सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा क्षेत्रीय सहरीका ७ सडकको सम्झौता सकियो, २० प्रतिशत काम अधुरै

२०८० साउन १०, ०६:५६ कमल सावद

धनगढीः धनगढीमा क्षेत्रीय सहरी विकास मार्फत निर्माण थालिएका सात सडकको सम्झौता अवधि सकिएको छ। एसियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण लगानीमा निर्माण थालिएका सडकको सम्झौता अवधि सकिएको हो। सम्झौता अवधि पूरा भए पनि भौतिक प्रगति भने ८० प्रतिशत मात्र सकिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी शौरभ कलौनीले बताए। उनले भने, ‘सडकको ८० प्रतिशत प्रगति भएको छ। ३१ अक्टोबर २०२३ सम्म समय थप भएको छ। बिवाद छैन। थप गरिएको समयमा काम पूरा हुन्छ।’

क्षेत्रीय सहरी विकास र कालिका कन्स्ट्रक्सबिच सन २०२० जुलाई १२ तारिक अर्थात २०७७ असार २८ मा सडक कालोपत्र गर्न सम्झौता भएको थियो। क्षेत्रीय सहरी विकासमार्फत धनगढीमा १०, गोदावरीमा १६, शुक्लाफाँटामा ८ र भीमदत्तमा १४ किलोमिटर सडक कलोपत्र गर्न सम्झौता भएको थियो। सम्झौताको समय सकिको छ। तर धनगढीमा ८० प्रतिशत मात्र काम पूरा भएको छ। एसियाली विकास बैंकको सहुलियत ऋण लगानीमा निर्माण थालिएका सडकको असारभित्र काम पूरा गर्न सम्झौता गरिएको थियो। तर श्रावणसम्म पनि ८० प्रतिशत मात्र काम पूरा भएको हो।

धनगढीमा बर्खाको कारण देखाउदै अहिले सडक निर्माणको काम बन्द छ। धनगढीको मुख्य सडकमा परेका खाल्डासमेत निर्माण कम्पनीले पुरेको छैन। क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी कलौनीले धनगढीको मुख्य सडकको काम बाँकी रहेको बताए। उनले भने, ‘धनगढीको मुख्य सडकमा पानी जम्न नदिन र खाल्डा पुर्न भनेका छौ।’

धनगढी उपमहानगरपालिकासहित भीमदत्तमा सडक कालोपत्रका लागि समय थप गरिएको छ। गोदावरी नगरपालिकामा पनि सडक निर्माणको काम पूरा भएको छैन। धनगढीमा ३१ अक्टोबरसम्मका लागि समय थप गरिएको छ। भौतिक प्रगतिका आधारमा अन्य स्थानीय तहमा समेत म्याद थप गरिएको छ। क्षेत्रीय सहरी विकास आयोजनामार्फत निर्माण थालिएका सडक निमार्णको काम सम्झौता अवधिमा पूरा नभएकाले थप गरिएको हो। धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकामा कार्तिकसम्मका लागि सडक कालोपत्र गर्न समय थप गरिएको छ।

क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी कलौनीले धनगढीको मुख्य सडकको काम मात्र बाँकी रहेको बताए। अन्य ठुलो काम बाँकी नरहेको उनले बताए।

धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, दुई दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि कालिका कन्ट्रक्सनसँग सम्झौता गरिएको थियो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस