सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ६ लेन सडकमा बिजुली जडानको प्रभाव, सवारी दुर्घटना ह्वात्तै घट्यो

२०८० साउन १०, ११:१५ कमल सावद

धनगढीः जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीमा कार्यरत प्रहरी हल्दार जनकराज धामी सवार मोटरसाइकल गत वैशाख ७ गते दुर्घटना भयो। जिल्लाको धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा उनी सवार मोटरसाइकल सामुदायिक पशुसँग ठोक्कियो।

धामी राजपुरको ट्राफिक बिट जाँदै थिए। उनको तीन दिनपछि धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। २०८० वैशाख ७ गते साँझ धनगढीमा बिजुली नभएको समयमा उनको सवारी दुर्घटनामा परेर मृत्यु भएको हो।धनगढी उपमहानगरपालिकाले २०७९ फागुन १० गते मोहनापुल–अत्तरिया ६ लेन सडकमा बिजुली जडान गरेपछि सवारी दुर्घटना ह्वात्तै घटेको छ।

साँझ तथा रातिको समयमा ६ लेन सडकमा दुर्घटना हुँदै आएकामा बिजुली जडानपछि कमी आएको हो। धनगढीको ट्राफिक चौराहादेखि गोदावरी नगरपालिकाको सीमानासम्म साँझ तथा रातिको समयमा दुर्घटना बिजुली जडानपछि कम भएका छन्। प्रहरी हवल्दार धामी बाहेक सो समयपछि मुत्यु भएको ट्राफिक प्रहरीसँग तथ्याँक छैन्।

जिल्ला ट्राफिक कार्यालय, कैलालीका प्रमुख बिरेन्द्र जोहारीले दुर्घटनामा कमि आएको बताए। बिजुली जडान नभएको समयमा पशु तथा डिभाइडरमा सवारी ठोक्किने गरेका थिए। तर जोहारीले तीव्र गतिका कारण दुर्घटना हुने गरेको बताए। उनले भने, ‘डिभाइडरका कारण दुर्घटना भएको होइन, म मान्दैन। डिभाइडरले दुर्घटना गराउने होइन। दुर्घटना कम गर्ने हो।’

जिल्ला ट्राफिक प्रहरीको तथ्याँक अनुसार २०७८/७९ मा ४५ वटा सवारी दुर्घटना भएका थिए। २०७९/८० मा २४ वटा मात्र दुर्घटना भएका छन्। बिजुली जडानपछि भने दुर्घटना कमि आएको जिल्ला ट्राफिक कार्यालय, कैलालीका प्रमुख बिरेन्द्र जोहारीले बताए। उनले दिनेशखबरसँग भने, ‘पहिलो आर्थिक वर्षमा ४५ दुर्घटना भएको छ। भाइते ६७ जना थिए। गएको आर्थिक वर्षमा १२ जनाको ज्यान गएको छ। तर २४ वटा मात्र दुर्घटना भएका छन्। तीन÷चार महिनामा चार वटासम्म मात्र दुर्घटना भएका छन्।’

जिल्ला ट्राफिक कार्यालय, कैलालीको तथ्याँक अनुसार आर्थिक वर्ष २०७८/७९ मा ४५ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। ४८ पुरुष, १७ महिला र २ बालबालिका गरेर ६७ घाइते भएका छन्। १४ वटा पशु मरेका छन भने तीन पशु घाइते भएका छन्।

तर आर्थिक वर्ष २०७९/८० मा २४ वटा मात्र सवारी दुर्घटना भएका छन्। १२ जनाको मृत्यु भएको छ। १७ पुरुष र तीन महिला गरेर २० जना घाइते भएका छन्। नौ चौपाया मरेका छन भने दुई घाइते भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मोहनापुल–अत्तरिया ६ लेन सडकमा दुर्घटनामा कमि आएको हो।

जिल्ला ट्राफिक कार्यालय, कैलालीका प्रमुख जोहारीले बिजुली जडान, ट्राफिक सचेतना, सडकमा ट्राफिक चिन्ह तथा सन्देशका कारण दुर्घटनामा कमि आएको बताए। उनले भने, ‘बत्ति जोड्ने। सवारी जाँचमा कडाइ गर्नु, चालक सचेत हुनु, लगायतका कारण दुर्घटनामा कमि आएको छ।’ गत आर्थिक वर्ष २०७९/८० मा पाँच जनाको सडकमा राखिएका डिभाइडरमा सवारी ठोक्किएर मृत्यु भएको छ।

आठवटा मोटरसाइकल गत आर्थिक वर्षमा डिभाइडरमा ठोक्किएका थिए। तीव्र गतिका कारण पनि दुर्घटना हुने गरेको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकमा बिजुली जडानपछि सवारी दुर्घटनामा कमि आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीको तथ्याँक अनुसार बिजुली गएका बेला र गोदावरी नगरपालिका क्षेत्रमा दुर्घटना भए पनि धनगढी क्षेत्रमा भने दुर्घटना कम भएका हुन्।

धनगढी उपमहानगरपालिका क्षेत्रमा बिजुली जडान गरिएपछि दुर्घटनामा कमि आएको हो। गोदावरी नगरपालिकाको सडक खण्डमा भने दुर्घटना बढ्दै गएको छ। मोहनापुर–अत्तरिया ६ लेन सडकमा तीव्र गतिका कारण दुर्घटना हुने गरेको छ। रातिको समयमा सामुदायिक पशुका कारण पनि दुर्घटना हुने गरेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस