सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडी नगरपालिका खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्दै

२०८० साउन ९, ०९:४५ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने भएको छ। नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्न आवेदन माग गरेको हो। 

नगर शिक्षा ऐन २०७७, नगर शिक्षा नियमावली २०८० बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्नका लागि आवेदन माग गरेको छ।

योग्यता पुगेका शिक्षकहरूले साउन ३१ गतेभित्र आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ। आधारभूत तह कक्षा (१–५) को हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ पास वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै आधारभूत तह कक्षा (१–८) को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

त्यस्तै माध्यमिक तह कक्षा (१–१०÷१२) को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको शिक्षकले आवेदन दिन सक्नेछन्। सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको, नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको शिक्षकले आवेदन दिन सक्नेछन्।

नगरापलिकाले आवेदनको शुल्कसमेत लिने भएको छ। 

कमेन्ट लोड गर्नुस