सुदूरमा थन्क्याइयो स्वास्थ्य उपकरण, कुन अस्पतालमा कति छन् प्रयोगविहिन?
धनगढीः सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरुमा करोडौँ मुल्य बराबरका स्वास्थ्य उपकरण थन्किएका छन्। आवश्यक जनशक्ति र राख्ने ठाउँ अभाव तथा कतिपय बिग्रिएपछि मर्मत नहुँदा ती उपकरणहरु प्रयोगविहीन अवस्थामा छन्। कोभिड– १९ को संक्रमण घटेसँगै सेती प्रादेशिक अस्पतालको कोरोना वार्ड र त्यहाँ जडान गरिएका दुई भेन्टिलेटर प्रयोगविहीन छन्।
अस्पतालका अनुसार गत वैशाखसम्म कोभिड संक्रमित भर्ना भएकाले भेन्टिलेटर प्रयोगमा थिए। कोभिड संक्रमित नभएपछि अहिले कोरोना वार्ड र त्यहाँ जडान गरिएका भेन्टिलेटर प्रयोगमा छैनन्। जटिल समस्या भएका संक्रमित आएमा उपचारका लागि कोरोना वार्डमा दुई भेन्टिलेटर तयारी अवस्थामा छन्। संक्रमणका वेला नेपाल सरकार, प्रदेश सरकार र दातृ निकायबाट प्राप्त गरी डेढ दर्जन भेन्टिलेटर अहिले प्रयोगमा रहेको अस्पतालले जनाएको छ।
प्राप्त भेन्टिलेटर १५ शड्ढयाको सघन उपचार कक्षमा जडान गरेर प्रयोग भइरहेका छन्। कोभिड संक्रमण भयावह भएपछि सेतीलाई प्रदेशकै विशेष अस्पताल तोकिएको थियो। त्यसवेला सरकार र दातृ निकायले भेन्टिलेटर, अक्सिजन सिलिन्डरलगायत उपकरण र सामग्री सहयोग गरेका थिए।
सेती प्रादेशिक अस्पतालबाट एउटा सिटिआरटी मेसिन वीर अस्पतालमा पठाइएको छ भने अर्को एपिएफ अस्पतालबाट मानव अंग प्रत्यारोपणमा पठाइएको छ।
सेतीमा दुई थान भेन्टिलेटर प्रयोगविहीन छन्। त्यस्तै अछामको बयलपाटा अस्पताल अछामकै छेडगाड नगरपालिका, डडेल्धुरा अस्पताल, डडेल्धुराकै जोडबुढा अस्पतालमा गरी एक÷एक थान भेन्टिलेटर प्रयोगविहीन छन्। भेन्टिलेटर मेसिनमै प्रयोग हुने बिप्याप मेसिन सबैभन्दा धेरै जिल्ला अस्पताल बझाङमा सात थान र जिल्ला अस्पताल बैतडीमा दुई थान प्रयोगविहीन छन्।
त्यस्तै श्वासप्रश्वासमा समस्या भएका व्यक्तिमा खासगरी सुत्ने समयमा हावाको चाप नियन्त्रणमा राख्न प्रयोगमा ल्याइने सिपिएपी मेसिन बझाङ जिल्ला अस्पतालमा तीन थान थन्किएका छन्। तरल पदार्थहरू, जस्तैः पोषक तत्व वा औषधिहरू बिरामीको शरीरमा नियन्त्रित मात्रामा पु¥याउन प्रयोगमा ल्याइने इन्फ्युजन पम्प डडेल्धुराको नवदुर्गा एक थान प्रयोगविहीन छ। डडेल्धुरा अस्पतालमा मेसिन राख्ने ठाउँ नभएर पाँच थान हेमोडायलाइसिस मेसिन प्रयोगविहीन छन्। मिर्गौला फेल भएका बिरामीमा रगत फिल्टरका लागि यो मेसिन आवश्यक पर्छ। मुटुको धड्कन वा चाल पत्ता लगाउन प्रयोग गरिने इसिजी मेसिन डडेल्धुरा अस्पतालमा एक थान थन्किएको छ।