सुदूर नेपाललाई विश्वसँग जोड्दै

अध्यक्ष र उपाध्यक्षको कुरा नमिल्दा गाउँपालिकाको सार्वजनिक सुनुवाइमा ढिलाई

२०८० साउन ६, ०५:०६ खबर संवाददाता

बझाङः  छबिसपाथिभेरा गाउँपालिकाले सार्वजनिक सुनुवाइका लागि तोकेको दिनमा सार्वजनिक सुनुवाइ हुन नसक्दा सार्वजनिक सुनुवाइमा ढिलाई भएको छ।

सुचना जारी गरेको दुई दिनपछि सार्वजनिक सुनुवाइ हुने भएपछि तोकिएको मिति र समयमा स्थानीय जम्मा भएका थिए, तर  विहान १० बजे नै सुरु हुने भनिएको सुनुवाइ कार्यक्रम दिउँसोसम्म पनि सुरु हुन सकेन। अन्ततः गाउँपालिकाका अध्यक्ष वसन्त चलाउने, निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन अयडीसहितको बैठकले सार्वजनिक सुनुवाइ स्थगित गर्ने निर्णय गर्यो। सार्वजनिक सुनुवाइ नभएपछि स्थानीय त्यसै घर फर्केका थिए। गाउँपालिकाका अध्यक्ष चलाउने र उपाध्यक्ष लक्षिमन बोहराबीच कुरा नमिल्दा सार्वजनिक सुनुवाइ स्थगित भएको हो।

आफूले सूचना नै नपाएकाले सार्वजनिक सुनुवाइमा बस्न नचाहेको बोहोराको भनाई छ। ‘सार्वजनिक सुनुवाइ अनिवार्य हुनुपर्छ भन्ने नै हो,’ बोहराले भने, ‘तर, सार्वजनिक सुनुवाइका लागि कार्यपालिकाको बैठक नबस्दै मिति तय गरेकाले बहिष्कार गर्नु परेको बताए।’ अध्यक्षको उक्साहटमा लेखापाल मुकेश थापाले आफूलाई आयव्यय विवरणबारे सूचना माग्दासमेत नदिएको उनको आरोप छ। त्यस्तै उपाध्यक्षसहित वडा नं १, २, ४ र ५ का वडाध्यक्षसहितले बहिष्कार गरेपछि सुनुवाइ रोकिएको हो।

‘सार्वजनिक सुनुवाइ बहिष्कार गर्नेहरूले पालिकाका बैठक बहिष्कार गर्ने तर आफूलाई कुनै जानकारी नदिएको आरोप लगाइरहनुभएको छ, त्यो निराधार हो,’ गाउँपालिका अध्यक्ष चलाउनेले भने, ‘पालिकामा बैठक बसौँभन्दा समेत उहाँहरू बस्नुहुन्न। पालिकाका गतिविधि सार्वजनिक गर्नुपर्ने भन्दै बैठक बसौँ भन्दासमेत उपाध्यक्षसहित केही वडाध्यक्ष उपस्थित हुन नचाहेको उनले बताए। त्यस्तै लेखापाल थापाले आफूले सूचना नदिएको भन्ने कुरा आरोप मात्रै भएको बताए। ‘हामीलाई सूचना लुकाएर के पाइन्छ वर्षभरि भएका सबै गतिविधि सार्वजनिक सुनुवाइ नै गरेर सार्वजनिक गर्ने तयारीमा छौँ । पालिकाभित्रैका मान्छेलाई सूचना नदिने भन्ने हुन्छ?, उनले भने।

सार्वजनिक सुनुवाइ गर्नका लागि आन्तरिक बैठक बसेर एक दुई दिनभित्र सार्वजनिक सुनुवाइको मिति तोक्ने अध्यक्ष चलाउनेले बताए।

कमेन्ट लोड गर्नुस