सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी वडा नम्बर २ का कर्मचारी भत्ता नवीकरण गर्न रकम असुल्दै

२०८० साउन ४, १२:३० खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ का कर्मचारीहरुले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न रकम असुल गर्दै आएका छन्। उनीहरुले आर्थिक वर्ष २०८०÷०८१ का लागि सामाजिक सुरक्षा भत्ताको नवीकरण गरेबाफत प्रति व्याक्तिबाट ५० रुपैयाँका दरले रकम असुल्दै आएका हुन्। 

उपमहानगरपालिका वडा नम्बर २ की सीतादेवि गुरुङले बिधुवा भत्ताको नवीकरणका लागि ५० रुपैया दिएको बताइन। उनले ५० रुपैया लिएका वडा कार्यालयका कर्मचारीले बिल नदिएको गुनासो गरिन। अघिल्लो वर्ष नवीकरणका लागि रकम नलागेकाले उनले कर्मचारीसँग प्रश्न गरेकी थिइन। तर वडा कार्यालयका कर्मचारीले कुनै जवाफ नदिएको उनले बताइन। उनले भनिन, ‘पैसा लिए, बाबु, किन लिएका ? मैले सोधेको, उहाँहरु बोल्नु भएन। पहिला लिने गरेको थिएन।’ 

सीता जस्तै बैगन कामीका श्रीमान र श्रीमतीले पनि वडा कार्यालयका कर्मचारीलाई रकम दिएका छन्। उनीहरुले एक सय रुपैया दलित वृद्ध भत्ताको नवीकरण गरेबाफत रकम दिएका हुन्। कामीले दिनेशखबरसँग भने, ‘हामीले सय रुपैया दियौ। पहिला लिएको थिएन। बिल पनि दिएन। किन लियो खै ?’ उनले सबैले दिएकाले रुपैया दिएको बताएका छन्। 

वडा नम्बर २ को कार्यालयमा हालसम्म ८० जना बढीले सामाजिक सुरक्षा भत्ताको नरवीकरण गरेका छन्। उनीहरु सबैबाट दर्ता चलानीका कर्मचारीले प्रतिव्याक्ति ५० रुपैयाका दरले रकम असुल गरेका हुन्। वडा सचिव बलदेव ओझाले नवीकरण गरेको रकम नलिएको दाबी गरे। उनले सामाजिक सुरक्षा भत्ताको नवीकरण निःशुल्क हुने बताए। तर उनको कार्यकक्षमा रहेका सेवाग्राहीले समेत प्रतिव्याक्ति ५० रुपैयाका दरले रकम बुझाएको बताएका थिए। 

वडा नम्बर २ मा एक हजार एक सय ६२ जनाले सामाजिक सुरक्षा भत्ता पाउदै आएका छन्। जेष्ठ नागरिक, एक महिला, बिधुवा महिला, अपाङ्गता भएका व्यक्ति, दलित बालबालिका र दलित जेष्ठ नागरिकले वडा नम्बर २ मा नवीकरण गर्दैछन्।

कमेन्ट लोड गर्नुस