कञ्चनपुरमा भन्सार छलीका सामानबाट दुई करोड बढी राजस्व असुली

धनगढीः कञ्चनपुर प्रहरीले आर्थिक वर्ष २०७८/७९ मा एक करोड १७ लाख ५४ हजार २८० रुपैयाँ बराबरका विभिन्न भन्सार छलीका सामान बरामद गरेर भन्सार कार्यालय गड्डाचौकी पठायो। यति ठुलो परिणाममा अबैध सामान बरामद गरेर भन्सार कार्यालय चलान गरिएपछि राजस्व असुलीमा ठुलै वृद्धि भएको हो।
भन्सार नतिरेरै भारतबाट धमाधम सामान भित्र्न थालेपछि भन्सार कार्यालय सुनसान जस्तै बन्न पुगेको थियो। तर प्रहरीले आफ्नो सक्रियता सीमा क्षेत्र हुँदै चोर बाटोहरुमा बढाउन सुरु गरेपछि भन्सार छलीका सामानले भन्सार कार्यालय गड्डाचौकी भरिभराउ हुन थालेको हो। भन्सार छलीका सामान सबैभन्दा बढी कञ्चनपुरबाट आयात हुन थालेपछि प्रहरीको सक्रियता बढेको छ।
कञ्चनपुर प्रहरीले आर्थिक वर्ष २०७९/८० मा भन्सार छलीका सामान जफत गर्न झनै सक्रियता बढाएको हो। सो अवधिमा मात्रै प्रहरीले दुई करोड २१ लाख ३४ हजार ७ सय ९८ रुपैयाँ बराबरका विभिन्न अवैध सामान बरामद गरेर भन्सार कार्यालय चलान गरेको छ। कञ्चनपुर भन्सार कार्यालय वर्षेनि करोडौँ रुपैयाँ भन्सार राजस्व गुमाउँदै आएकोमा त्यस्ता सामाग्री नियन्त्रणमा प्रहरीको सक्रिता बढेपछि राजस्व असुलीको ठुलो योगदान पुगेको छ।
२०७९ को साउन महिनामा २१ लाख ३५ हजार ३९४, भाद्र महिनामा एक लाख २७ हजार ६२०, असोजमा एक लाख ५४ हजार ६० तथा कात्तिक महिनामा पाँच लाख ३४ हजार ८६० रुपैयाँ मुल्य बराबरका विभिन्न सामग्रीहरु प्रहरी जफत गरेर भन्सार कार्यालयमा दाखिला गरेको हो। मंसिर महिनामा भने भन्सार छलीका सामान आयात भएको तथ्यांक छैन्।
पौष महिनामा ७ लाख ५६ हजार ६६०, माघ महिनामा बढेर २५ लाख ७० हजार ७८६, फागुन महिनामा ३१ लाख ५१ हजार ३११, चैत महिनामा ३८ लाख ९० हजार ७ सय, बैशाख महिनामा २१ लाख ३१ हजार ७६५, जेठ महिनामा ४२ लाख ४६ हजार ८२० तथा असार महिनामा २४ लाख ३४ हजार ८ सय २२ रुपैयाँ बराबरका अवैध सामान प्रहरीले जफत गरेर भन्सार कार्यालयमा बुझाएको हो।
प्रहरीले दैनिक उपभोग्य वस्तुदेखि पूर्वाधार निर्माणसम्मका अवैध सामान बरामद गरेर भन्सार चलान गर्दै आएको छ। अधिकांश सामान बेवारिसे अवस्थामा फेला पर्ने गरेका छन भने कतिपय अवस्थामा भन्सार छलीका सामानसहित संलग्न व्यक्तिलाई समेत पक्राउ गरेर भन्सार पठाउने गरिएको छ।
