सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीबाट ३६ महिला तथा बालबालिका बेपत्ता, १५३ निवेदन प्रहरीमा दर्ता

२०८० साउन २, ०१:४५ खबर संवाददाता

धनगढीः पछिल्लो समय कैलालीमा महिला, बालबालिका तथा पुरुष हराउने क्रम बढेको छ। जिल्लाको गोदावरीबाट मात्र महिला, बालबालिका र पुरुष गरी अझै ३६ जना बेपत्ता छन्। बेपत्ता हुनेमा सबैभन्दा बढी महिला छन्। ईलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) मा महिला, बालबालिका र पुरुष हराएको भन्दै आर्थिक वर्ष २०७९/८० मा एक सय ५३ निवेदन दर्ता भएका थिए।

ती मध्ये ३६ महिला, पुरुष र बालबालिका अझै बेपत्ता छन्। सो अवधिसम्म गोदावरका विभिन्न क्षेत्रबाट ६१ महिला हराएको निवेदन दर्ता भएकोमा ४३ महिला फेला परेका छन भने १८ महिला अझै बेपत्ता छन्। ४० बालबालिका हराएकोमा ३२ बालबालिका मात्र फेला परेका छन भने ८ बालबालिकाको अवस्था अझै अज्ञात छ।

गोदावरीबाट ३३ पुरुष हराएको निवेदन परेकोमा अहिलेसम्म २४ जना मात्र फेला परेका छन्। बाँकी ९ जनाको अवस्था अझै अज्ञात छ। गोदावरीबाट सबैभन्दा बढी १८ महिला, ८ बालिका, एक बालक र ९ पुरुष अझै फेला नपरेको ईलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)को तथ्यांक छ। सो क्षेत्रबाट हरेक महिना सबैभन्दा बढी महिला हराउने गरेको पाइएको छ।

महिलासँगै बालिका हराउने संख्या पनि डरलाग्दो रुपमा देखिएको छ। साथै आफन्त हराएको भन्दै प्रहरीमा निवेदन दिनेको संख्या बढ्दै गएको प्रहरी अभिलेख छ। हराएका महिला, बालबालिका तथा पुरुष खोज्ने कार्यमा पनि प्रहरीको सक्रिता बढेको पाइएको छ। सो अवधिसम्म ईलाका प्रहरी कार्यालय मालाखेतीले एक सय १७ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाईसकेको छ।

कमेन्ट लोड गर्नुस