धनगढीमा पेट्रोलियम पदार्थको हाहाकार, यस्तो छ मुख्य कारण
धनगढीः हिजो दिनभर धनगढीलगायत कैलालीका पेट्रोल पम्पमा पेट्रोल र डिजेल पाउन सकिएन। दिनभर पेट्रोल पम्पहरू बन्द रहे। आज पनि सर्वसाधारणले १० बजेसम्म इन्धन पाउने अवस्था छैन। १० बजेपछि मात्रै पेट्रोलियम पदार्थ पाउन सकिने अवस्था रहेको पेट्रोल पम्प सञ्चालकहरूले बताएका छन्।
हिजो र आज दसबजेसम्म इन्धन नपाएका कारण सर्वसाधारणले हैरानी खेप्नुपरेको बताएका छन्। तर, पेट्रोलियम डिलर्स एसोसिएसन कैलालीका अध्यक्ष चक्र मल्लले भने आयल निगमको सर्भरले काम नगरेकाले तेल पाउन नसकेको बताएका छन्। ‘हामीले माग गर्न नै सकेनौँ अनलाइन सिस्टमले काम नगरेका कारण। अनलाइनमा माग गर्न नसक्दा कुनै पनि पेट्रोल पम्पले तेल ल्याउन सकेनन्,’ उनले भने, ‘हिजो साँझबाट सिस्टमले काम गरेको छ। आजबाट तेल पाइन्छ।’
यस्तै, नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख मोहनकुमार शाहले क्लोजिङका कारण हिजो सर्भर बन्द गरिएको बताए। उनले नयाँ आर्थिक वर्षमा जहिल्यै क्लोजिङका दिन कारोबार बन्द हुने बताए। ‘आज १० बजेपछि सबै पेट्रोल पम्पमा तेल जान्छ।’ शाहले दिनेशखबरलाई बताए।
असार मसान्तको क्लिजिङका कारण साउन १ गते तेलको अभाव देखिएको तर मङ्गलवार १० बजेपछि कारोबार सुचारु हुने भएको हो। कारोबार सुरू भएसँगै आज १० बजेपछि धनगढीका पेट्रोल पम्पमा तेल वितरण हुने भएको छ। प्रादेशिक डिपोमा १५ लाख ९० हजार लिटर डिजेल, ८ लाख ३० हजार लिटर पेट्रोल र ७० हजार लिटर मट्टीतेल भण्डारण गर्ने क्षमता छ।
डिजेल र पेट्रोलको भण्डारणले सुदूरपश्चिम प्रदेशको पाँच दिनको खपतलाई धान्ने गरेको आयाल निगमं प्रादेशिक कार्यालयले जनाएको छ। धनगढी डिपोले प्रदेशका नौवटै जिल्लामा इन्धनको आपूर्ति गर्दै आएको छ। धनगढीबाट पेट्रोलियम पदार्थको आपुर्ति बन्द हँुदा यसको असर प्रदेशका ९ वटै जिल्लामा पर्ने गरेको छ।